२०७६ पौष १५ गते निमोनियाका बिरामीको सङ्ख्या वुहानमा एक्कासि बढ्दै गयो । त्यसको एक सातापछि नयाँ कोरोना भाइरस आएको पुष्टि भयो । आजका दिनसम्म पचास लाखभन्दा बढी सङ्क्रमित छन् र तीनलाख भन्दाबढीको मृत्यु भइसकेको छ । संसारका लगभग सबै देशलाई यसले छोएको छ ।
यस महामारीको उपचारका लागि विभिन्न अनुसन्धान भइरहेका छन् । कम्तीमा पनि खोप बन्न नौ महिना देखि चौबीस महिना लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणको सफलता पछि दोस्रो चरणमा परीक्षण सुरु भएको अवस्था छ । खोप नआउन्जेल सम्म यसलाई रोकथाम गर्ने एउटै विकल्प लकडाउन हो । चिनको वुहान सहरमा पनि लकडाउन कै कारण यो महामारी थप फैलिन पाएन र नियन्त्रण हुन सक्यो । धेरैजसो देशले लकडाउन नै गरेको पाइन्छ ।
आज सम्म आइपुग्दा हामीले दुई महिनाको लकडाउन अवधि पार गरिसकेका छौँ । लकडाउनकै कारण भाइरस फैलिने क्रम तुलनात्मक रूपमा कम भएको हुनुपर्छ तर यसले अर्कातिर भने अर्थतन्त्रलाई धराशायी बनाएको छ । कोरोना भाइरसलाई हामी एउटा आइस वर्गका रूपमा लिन सक्छौँ । यसमा देख्दा एक भाग सानो देखिन्छ तर नदेखिने भागले धेरै प्रभावपार्दछ । यस महामारीले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक र सामाजिक क्षेत्रमा धेरैनै असर पु¥याएको छ ।
देशले आज कहिल्यै कल्पना नगरेको आर्थिक, सामाजिक र स्वास्थ्य सम्बन्धी समस्या भोगि रहेको छ । साना तथा मझौला उद्योग देखि लिएर ठुला उद्योगका साथै होटल व्यवसाय सबै ठप्प छन् । उद्योग व्यवसाय बन्द हुँदा यसको असर लगानीकर्ता, मजदुर, तिनका परिवार, बैङ्क तथा वित्तीय संस्था लगायत उत्पादन र बजारीकरणमा पर्छ ।
नेपालमा साना तथा मझौला उद्योग चार लाख अठार हजार छन भने ठुला उद्योग सात हजार आठ सय छन् । यिनले तीस लाख रोजगारी सृजना गरेका छन् । उद्योग र व्यवसायले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पच्चीस प्रतिशत हिस्सा ओगटेका छन्। यी कल–कारखानाहरूमा बैङ्कको करिब रु.३२ खर्ब ५० अर्बलगानी छ ।
त्यसै गरी विकास–निर्माणमा बीसलाखले रोजगारी पाएका छन्भने झन्डै ७.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान छ । करिब आठ हजारको सङ्ख्यामा होटल रहेका हुनाले यस व्यवसाय सँग आठ लाख भन्दाबढी रोजगारी जोडिएका छन् । प्रतिवर्ष नेपालमा नयाँ जनशक्ति करिब पाँच लाख बाह्र हजार तयार हुने तथ्याङ्कले देखाउँछ भने एक लाखले मात्र रोजगारी पाउने गर्छन् । अझ अहिलेको विषम स्थितिमा २० प्रतिशत भन्दा बढी नेपालीले विदेश वा छिमेकबाट स्वदेश फर्कन रुचाएको देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले यो कोरोना भाइरस जीवनभर नै रहन सक्ने आशङ्का गरेको छ । यो आशङ्का सत्य भयो भने हामीले कोरोना भाइरस सँगै अगाडि बढ्नुपर्ने स्थिति आउनेछ ।यस्तो भएको खण्डमा हामीले रोग प्रतिरोधक क्षमता बढाएर सङ्क्रमणका कारण हुने सम्भावित मृत्युबाट बच्नुपर्छ भने यसलाई एच.आई भी एड्स जस्तै सामान्य मानेर हिँड्नुको विकल्पहुँदैन ।
नेपालमा हालसम्म ८५ प्रतिशत उद्योग र व्यवसायको नाफा घटिसकेको पाइन्छ भने १२ लाखले भन्दा धेरैले रोजगारी गुमाएका छन् । साना तथा घरेलु उद्योगले घरभाडा , कामदार को तलबका साथै ब्याज तिर्न सकेका छैनन् । रेमिट्यान्समा २० प्रतिशत भन्दा बढी प्रभाव परेको देखिन्छ । उद्योग व्यवसाय प्रभावित हुँदा धेरै रोजगारी जोखिममा परेका छन् । रोजगारीका लागि पहिलो गन्तव्यमा पर्ने खाडी मुलुक तेलको मूल्यमा आएको गिरावटका कारण आर्थिक मन्दीमाजान सक्ने अनुमान छ । त्यहाँ रहेका नेपालीको रोजगारीमा यसबाट प्रत्यक्ष असर पर्ने देखिन्छ ।
अब यो लकडाउन कति समय सम्म लम्ब्याउने र खोल्दा कति चरणमा खोल्ने आजका धेरै मानिसको मनमा यही प्रश्न उब्जेको छ । यदि लकडाउन लम्बिँदै गयो भने धेरैले रोजगारी गुमाउनेछन्, जसका कारण जीवनयापन थप कष्टकर हुनपुग्ने निश्चित छ ।
छिमेकी मुलुक भारत, जससँग हाम्रो संस्कृति, जीवनशैली, रितिरिवाज लगायत खाद्य प्रणाली पनि मिल्छन् । त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमा ६० देखि ७५ वर्ष उमेरसमूहका ४२ प्रतिशत छन्, ४५ देखि ६० वर्ष उमेर समूहका ३४ प्रतिशत छन्, तीमध्ये पनि मधुमेह, हृदयविकार र मृगौलाको खराबीका कारण मृत्यु हुने ७८ प्रतिशत रहेका छन् ।
नेपालको तथ्याङ्क अनुसार ७१.५ प्रतिशत अर्थात दुई करोड भन्दा बढी जनसङ्ख्या काम गर्ने वर्गमा पर्दछ भने युवा जनशक्ति (१७–४५वर्ष) ५७ प्रतिशत छन् । यस्तो युवा जनशक्ति भएको देशले उचित योजना कार्यान्वयन गर्न सक्ने हो भने त्यति धेरै त्रास लिनुपर्ने देखिन्न। अहिलेको परिस्थितिमा भाइरसका कारण प्रभावित धेरै देशले लकडाउन खोलिसकेका वा यसलाई सहज बनाउँदै आएका छन् ।
स्पेन, जर्मनजस्ता देशमा रेष्टुराँ, बार लगायतपार्क सञ्चालनमा आइसकेका छन भने भारतमा भने क्रमिक रूपमा सुरक्षा अपनाएर लकडाउनलाई सहज बनाउने क्रम जारी छ । यसको मतलबहाम्रा देशमापनि सबै कुरा खोल्नुपर्छ भन्ने होइन तर जीवन सहजबनाउन ठोस कदमचाल्नुपर्ने बेलाचाहिँआइसकेको छ भनेर सचेत गराउनु हो ।
साधारण मानिसहरूलाई रोजगारी गुमाउने डर एकातिर छ भने अर्का तिर लकडाउनका कारण डिप्रेसन र तनावले गाँज्न सक्ने देखिन्छ । आफूले चाहेको मान्छे वा साथीसँग आफ्ना कुरा राख्न नपाउँदा र सामाजिक सञ्जालले फैलाएको त्रासले गर्दा मनोरोगीको सङ्ख्या नबढ्ला भन्न सकिन्न ।
यसबाट मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने र रचनात्मकतामा ह्रास निम्तिने कुरालाई नकार्न सकिँदैन । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्ने निम्न वर्गीय परिवारको जीवन अहिले नै ज्यादै कष्टकर बनिसकेको छ भने यसै गरी लकडाउनलाई लम्ब्याउँदै जाँदा भाइरसले नभई भोकमरीले ज्यान गुमाउनेको सङ्ख्या दिनानुदिन अवश्य बढ्नेछ । त्यसबाट विद्रोह पनिजन्मन सक्छ र यसको प्रमुख जिम्मेवार सरकार हुनेछ ।
व्यक्तिगत रूपमा जर्मनी, स्पेन, इटली र भारतजस्ता देशहरूले गरेको निर्णयलाई म एउटा बौद्धिक निर्णय ठान्दछु । आज यस महामारीले प्रत्यक्षरूपमा ५० लाखलाई असर गरेको होला तर अप्रत्यक्ष रूपमा करोडौँको जीवनलाई तहसनहस पारिदिएको छ । यसकै कारण आगामी दिनमा आर्थिक र सामाजिक क्षेत्रमा पुग्ने असरका कारण बाँच्न गाह्रो हुने देखिन्छ ।
त्यसकारण नेपालमापनि अब लकडाउनलाई सहज बनाउँदै लानुपर्छ र अर्थतन्त्रसँग सोझै सम्बन्ध राख्ने क्षेत्रलाई सुचारु गराउँदै दैनिक मजदुरी गरेर जीविको पार्जन गर्ने जनशक्तिको जीवन सहज बनाउनुपर्छ । यसबाट अर्थतन्त्रमा टेवा पु¥याउने औद्योगिक, व्यापारिक, वित्तीयआदि क्षेत्रको भविष्यमा सुधार हुन जान्छ भने भोकमरीले निम्त्याउने भयावह परिस्थितिलाई रोक्न सकिन्छ ।