अख्तियारमा उजुरी परेको भोलीपल्टै बेलबारी नगरद्वारा ग्रो अर्गानिकसँगको बोयर खरिद सम्झौता रद्द


अष्ट्रेलियाबाट ल्याईएको झुठा प्रचार गर्दै सम्झौता मापदण्ड विपरितका बोकापाठी खरिद गर्ने ग्रो अर्गानिक कृषि प्रा.लि. लाई बेलबारी नगरपालिकाले कारवाही प्रकृया अघि बढाएको छ । खरिद सम्झौता अनुरुप अष्ट्रेलियाबाट आयात प्रमाण र फुल ब्लड बोयर लगायतका पुष्टि हुने प्रमाण पेस गर्न नसकेको ग्रो अर्गानिक कृषि प्रा.लि.लाई कारवाही गर्न स्पष्ट आधार हुँदा पनि बेलबारी नगरपालिकाले कारवाही गर्न आलटाल गर्दै आएको थियो ।
सोमबार बसेको बेलबारी नगरपालिका नगरकार्यपालिकाको बैठकले ग्रो अर्गानिकको जमानत जफत गर्दै सम्झौता नै खारेज गर्ने निर्णय गरेको हो । बैठकले ग्रो अर्गानिकलाई कालोसुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने समेत निर्णय गरेको वडानम्बर ७ का वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस :बोयर काण्डका ठेकेदारलाई कारवाही गर्न किन डराइरहेको छ बेलबारी नगरपालिका ?

बोयर बोकापाठी खरिदका विषयमा अनियमितताको प्रश्न तिब्र रुपमा उठेसँगै ग्रो अर्गानिकले सम्झौता विपरित काम गरेको पुष्टि हुने वित्तिकै नगरपालिकालाई यी निर्णय लिन कुनै व्यवधान थिएन् । तर नगरपालिकाले यसविषयमा आश्चर्यजनक ढंगले आलटाल गरिरहेको थियो ।
बोयर काण्डबारे आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी समेत परेको थियो । यसै विषयमा बेलबारीका युवाहरुले नगरपालिका गेट अगाडी सोमाबार मात्रै विरोध प्रदर्शन गरेका थिए ।