बोयर काण्डका ठेकेदारलाई कारवाही गर्न किन डराइरहेको छ बेलबारी नगरपालिका ?

बोयर बोकापाठी खरिद सम्झौता अनुरुप अष्ट्रेलियाबाट आयात प्रमाण र फुल ब्लड बोयर लगायतका पुष्टि हुने प्रमाण पेस गर्न नसकेको ग्रो अर्गानिक कृषि प्रा.लि.लाई बेलबारी नगरपालिकाले कारवाही गर्न खुट्टा कमाएको छ । समयसिमा नै तोकेर आवश्यक प्रमाण पेस गर्न नगरपालिकाले पत्र नै पठाएको भएपनि ग्रो अर्गानिकले प्रमाण पेस गर्न सकेन । बोयर खरिदमा नगरपालिकाले अनियमितता गरेको हुनसक्ने भन्दै तिब्र रुपमा प्रश्न उठीरहेको र ग्रो अर्गानिकले सम्झौताको मापदण्ड र गुणस्तरका बोकापाठी अष्ट्रेलियाबाटै आयात गरिएको प्रमाण पेस गर्न नसक्दा समेत नगरपालिकाले नियम अनुसारकै कारवाही प्रक्रिया अघि बढाउन आलटाल गर्नु निकै रहस्यपुर्ण रहेको छ ।
बोयर खरिदबारे अनियमितताको प्रश्न तिब्र रुपमा उठेपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीकै हस्ताक्षरमा जारी विज्ञप्तीमा खरिद सम्झौता अनुसार मापदण्ड पुरा गरेको नदेखिएमा ग्रो अर्गानिकको धरौटी जफत गरी कालो सुचीमा राखेर ठेका रद्द गरी कानुनी कारवाही अघि बढाउने स्पष्ट उल्लेख छ । २०७८ जेठ १७ गते बेलबारी नगरपालिकाले जारी गरेकोे विज्ञप्तीको बुँदा नम्बर ५ मा सो कुरा स्पष्ट उल्लेख छ । त्यसपछि नगरपालिकाले जेठ २० गते ग्रो अर्गानिक कृषि प्रा.लि.लाई सम्बोधन गरेर लेखेको पत्रमा सम्झौता बमोजिमको शर्त र मापदण्ड पुष्ट्याई हुने कागजात सहित उपस्थित हुन भनिएको छ । सो पत्रमा जेठ २३ गते आइतबार कार्यालय समय भित्र कागजात पेस गर्न समयसिमा तोकिएको छ । पेस गर्न नसकेमा कानुन बमोजिम कारवाही हुने कुरा पनि पत्रमै स्पष्ट छ । सो पत्र पनि नगरपालिका आफैले सार्वजनिक गरेको थियो ।
तर, ग्रो अर्गानिकले जेठ २३ गतेसम्म न त बोयर बोकापाठी अष्ट्रेलियाबाट आयात गरेको प्रमाण पेस गर्यो,न त ल्याइएका बोकापाठी फुल ब्लड अष्ट्रेलियन बोयर हुन भन्ने प्रमाण नै पेस गर्न सक्यो । ग्रो अर्गानिकले यसरी हेपाहा ढंगले खरिद सम्झौताको र नगरपालिकाको पत्रको धज्जी उडाएपनि नगरपालिकाले कारवाही नगर्नुलाई धेरैले रहस्यमय रुपमा लिएका छन् । खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत त्रुटि गरेको वा सम्झौता अनुरुपको दायित्व सारभूतरुपमा पालना नगरेको वा खरिद सम्झौता बमोजिमको कार्य सो सम्झौता बमोजिमको गुणस्तरको नभएको प्रमाणित भएमा धरौटी जफत गरी कालोसुचीमा राख्न सिफारिस गर्न सक्ने स्पष्ट व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ मा रहेको छ । यो अवस्थामा नगरपालिकाले ग्रो अर्गानिकको धरौटी जफत गरी,ठेक्का रद्द गर्न कुनै व्यवधान देखिँदैन । नगरपालिकाले ग्रो अर्गानिकलाई ३ वर्ष सम्म कालोसुचीमा राख्न सिफारिस सहित सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाउन सक्छ । आफँैले गरेको सार्वजनिक प्रतिवद्धता पुरा गर्ने अवस्थाबाट बेलबारी नगरपालिका किन पन्छिँदैछ ?
कारवाही नगरी छानविन समिति
गत सोमबार नगर कार्यपालिकाको बैठक बस्यो तर ग्रो अर्गानिकलाई कारवाही गर्ने निर्णय गर्नुको साटो ‘सामथ्र्यहिन’ छानविन समिति गठन गर्ने निर्णय गर्यो ।उपमेयर ढाका पराजुलीले संयोजक नबस्ने भनेपछि अहिले त्यो छानविन समिति नै वेवारिसे जस्तै बनेको छ । संयोजकले जिम्मेवारी अस्विकार गरेको अवस्थामा विहिबार बसेको कार्यपालिकाको बैठकमा समेत यसबारे कुनै कुराकानी नभएको वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिए । संयोजकनै नरहने भएपछि कुनै ढंगले समितिले पुर्णता पाउला वा अर्को समिति पुनर्गठन होला भन्ने अपेक्षा समेत गरिएको थियो । तर,त्यसो नहुनुले पनि अवस्था ससंकित रहेको देखाउछ ।
छानविन समितिले सबै कुरा हेरोस भनेर अहिलेलाई कारवाही नगरिएको,समितिले जे भन्छ त्यही गर्ने भन्ने नगरपालिकाको तर्क छ ।तर, नगरपालिकालाई नै बदनामी गराउने,नगरपालिकाको प्रतिष्ठा गिराउने कार्यलाई कारवाही गर्दा अझै सो समितिलाई नै सहयोग पुग्ने र नगरपालिकाले पनि बचन पुरा गरेको देखिन्छ । नगरपालिकाले ग्रो अर्गानिकलाई कारवाही गर्न आलटाल गर्दै समय गुजार्दै गर्दा ‘ग्रो अर्गानिकलाई चोख्याउने प्रयास हो ?’ भन्ने प्रश्न गर्नेलाई नगरपालिकाको जवाफ के हुन्छ ?
ठेकेदारको ठुलो स्वर
उता ग्रो अर्गानिकका प्रतिनिधिको रुपमा आएका श्याम पाण्डेले भने उल्टै नगरपालिकालाई नै धम्कीपुर्ण भाषाहरु प्रयोग गरीरहेका छन् । बोयर काण्ड सार्वजनिक भएर जति दिनहरु वित्दै गएका छन् त्यति नै पाण्डेको बोली फेरिने गरेको छ । गत जेठ १७ गतेसम्म अष्ट्रेलियाबाट भारतको लखनउ एयरपोर्ट हुँदै सडक मार्गबाट फुल ब्लड बोयर नै बेलबारी ल्याएको प्रमाण पेस गर्र्ने भन्दै पाण्डेले ‘कन्फिडेन्स’ देखाएका थिए । तर, जेठ २३ को समय सिमा वित्दैगर्दा सञ्चारकर्मीसँगको कुराकानीमा उनले नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको विभिन्न पोल खोलीदिने धम्कीपुर्ण अभिव्यक्ति दिएका थिए । सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई पनि पाण्डेले यस्तै विषयहरुको सहारामा प्रेसरमा राखेका त हैनन् ? यदि त्यस्तै हो भने सम्पुर्ण विषयको पर्दाफास भएपछि बेलबारीका सम्पुर्ण नगरवासी सडकमा आउने सम्भावना पनि रहन सक्छ । बोयर काण्डलाई नजिकबाट नियालीरहेकाहरुका अनुसार बेलबारी नगरपालिकाले आलटाल गरेर समय लम्ब्याउने र आलोचनाका लागि ठाउँ राखीदिने भन्दा चाँडो निकास निकाल्ने काम गर्नुपर्दछ ।