बेलबारी कोरोनाको हटस्पट ? ‘प्रोमो’बाटै पाठ सिकौँ ‘क्लाइमेक्स’ धान्न सकिन्न


बेलबारीमा पहिलोपटक गत असार २० गते एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति भारतको दिल्लीबाट फर्किएर बेलबारी १० स्थित धिरनाथ सम्फुल विश्वास माविको क्वारेन्टिनमा बसेका थिए । त्यसको एक महिनापछि अर्थात गत साउन २२ गते ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखियो ।त्यसको केहिदिनमै एक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखियो । समुदायमा खुलारुपमै हिँडडुल र नियमित दैनिकीमा रहेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिनुले बेलबारीमा संक्रमणको अवस्था कतातिर जाँदैछ भन्ने संकेत गरिसकेको थियो । कन्ट्याक ट्रेसिङबाट बाट हुने व्यक्ति पहिचान र उनीहरुको कोरोना परिक्षण रिपोर्ट पर्खनु थियो । केही व्यक्तिका रिपोर्ट नेगेटिभ आएपनि सोमबार आएको रिपोर्टले बेलबारी कोरोनाको ‘हटस्पट’ बन्दैगएको संकेत गरेको छ ।
बेलबारीमा देखिएको कोरोना संक्रमणको ट्रेण्ड

बेलबारीमा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव नमुना संकलनको रिपोर्ट आउनेक्रम जारी छ । कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको अहिलेसम्मको रिपोर्ट नियाल्दा बेलबारीमा संक्रमण विस्तारको २ वटा शैली स्पष्ट देखिएको छ । पहिलो,व्यक्तिबाट संक्रमणको पहिलो जोखिम आफ्नै परिवारमा हुन्छ । यो कुरा सबैले भन्दै आएको र सहजै अनुमान गर्न सकिने विषय पनि हो र बेलबारीमा यो कुराको पुष्टि पनि भयो । दोस्रो, महिलामा अत्यधिक संक्रमण देखिनु । बेलबारीमा कन्ट्याक ट्रेसिङ बाट नमुना परिक्षण गर्दा रिपोर्ट पोजीटिभ देखिएकामा ७० प्रतिशत महिला छन् । यहाँ किन महिला संक्रमित भए यसको वैज्ञानिक कारण आफ्नो ठाउँमा होला, तथ्यांक विष्लेषणले पनि केही बताउला ।तर, हामीले सामान्य हेराईबाट लिने सन्देश महिलाहरु अलि बढि नै सचेत हुनुपर्ने रहेछ भन्ने नै हो । तिज नजिँकिँदैछ भेला हुने जमघट हुने,ब्रत वस्ने क्रममा अपनाइने विधि पुजाआजा जस्ता कुराहरुमा महिलाहरु बढि सचेत हुनुपर्ने सन्देश पनि यसले दिएको छ । तिज मात्रै हैन ‘कोरोनाकाल’ मा गरिने व्यक्तिको सबै गतिविधि सामान्यबेलाको भन्दा फरक,सुरक्षित हुनुपर्दछ ।
बेलबारी कोरोनाको हटस्पट नबनोस

कोरोना संक्रमणको अवस्था हेर्दा प्रष्ट छ की समुदायमा यसको फैलावट तिब्र हुन्छ । विश्वमा यसले दिएको हैरानी नै यहि हो । आज नेपालमा पनि यहि दुर्दशाले घेरीरहेको छ । दिनप्रतिदिन संक्रमण बढिरहेको छ ।बेलबारीमा पनि संक्रमणको विस्तारले यस्तै संकेत गरेको छ । यहि ढंगले संक्रमण फैलिने हो भने बेलबारी कोरोनाको ‘हटस्पट’ बन्न अब धेरै लाग्दैन । ‘हटस्पट’ अर्थात ‘कुनै निश्चित क्षेत्रमा छोटोसमयमै संक्रमणको दर वा संख्या तिब्र वृद्धि हुनु’ले भयावह अवस्था निम्त्याउँछ । बेलाबारीमा गत साउन २२ देखि यताको संक्रमण संख्या हेर्ने हो भने ११ दिनमै १४ जनामा संक्रमण देखिइसकेको छ । संक्रमणको अवस्था कहाँसम्म पुग्ने हो यसै भन्न सक्ने अवस्था छैन् ।
संक्रमणको गतिलाई ‘ब्रेक’ गर्न व्यक्तिकै भुमिका पहिलो

बेलबारीमा फैलिरहेको संक्रमण रोक्न पहिलो र महत्वपुर्ण भुमिका एक\एक व्यक्ति अर्थात तपाई वा मेरो हो भन्ने कुरा बुझेर व्यवहारमा कार्यान्वयन नगरेसम्म समुदायमा आइसकेको कोरोनाको संक्रमण गतिलाई ‘ब्रेक’ गर्न गाह्रो छ । एउटा व्यक्तिले सुरक्षा विधि अपनाउँदा उ आफु सुरक्षित हुन्छ र अरुलाई पनि आफुबाट सुरक्षित राख्छ । तर लापरवाही गर्यो भने उसको आफ्नै जिवन र परिवारको भावनासँग खेलवाड गरेको ठहर्छ । त्यसैले आफु सुरक्षित हुन परिवारलाई सुरक्षित राख्न सबैले सुरक्षाका विधिलाई अब अहिलेबाटै अक्षरसः पालना गर्न आवश्यक छ । एक व्यक्तिको लापरवाहीले उ त असुरक्षित हुन्छ नै उसले घरमा रहेका अवोध वालवालिका,जेष्ठ नागरिक,परिवाका अन्य सदस्यलाई पनि असुरक्षित गराईरहेको हुन्छ ।
कोरोनाबाट आफु र अरुलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरौँ र यो पालना गर्नुपर्ने समयसिमा असिमित छ । जवसम्म विश्वमा कोरोनाको निर्मुल गर्ने गरीको उपाय पत्ता लाग्दैन तबसम्म आफुलाई सुरक्षित राख्नै पर्दछ ।

सकेसम्म घरमै बसौँ । घरमा बस्दा पनि नियमित रुपमा साबुनपानीले हात धुने गरौँ । हातबाटै नाक,मुख,आखाँसम्म भाइरस पुग्ने र शरिरभित्र प्रवेश गर्ने भएकाले हात सफा राख्नु आवश्यक छ । माक्सको अनिवार्य र सही प्रयोग गर्ने । धेरे मानिस भेला नहुने, भेला भिडमा नजाने । जानैपरे माक्स अनिवार्य लगाउने अरु व्यक्तिभन्दा ६ फिट टाढै रहने ।

व्यक्तिको चेतना र स्थानिय सरकारको सक्रियता आवश्यक

कोरोना संक्रमित बढेको खबरहरु आएपछि बेलबारवासीहरुमा चिन्ता पनि थपिएको छ । सामाजिक सञ्जालमार्फत लकडाउन कडाई गर्नुपर्ने, कर्फ्यु जारी गर्नुपर्ने जस्ता प्रतिक्रियाहरु आएका छन् । सबैले सुरक्षा विधि अपाउन आग्रह सहितको पोष्टहरु हालीरहेका छन् । यसबाट बेलबारीमा कोरोनाको विपत् विरुद्ध सचेत ऐक्यवद्धता पनि देखाउँछ । अवस्थाको विष्लेषण गरेर सरकार वा प्रसासनले उचित कदम चाल्न ढिलाई गर्नुहुँदैन ।
तर कोरोना कहरमा यतिका समय व्यतित गरिसक्दा पनि व्यक्तिमा कोरोनाबारे चेतना अझै जागृत भएको जस्तो देखिँदैन या त चेतना भएर पनि वेवास्ता गरेको देखिन्छ । थाहा भएर बुझ पचाउनेहरुको औषधी नहोला ।तर, हाम्रो गाउँसमुदायमा सबैमा कोरोनाको प्रभाव यसबाट बच्ने जुक्ति लगायतबारे जानकारी नभएको पनि हुनसक्दछ । अन्य काम विषयमा केन्द्रित हुँदा कोरोनाको असरबारे सोच्ने समय नहुन सक्दछ ।

कोरोनाबाट सुरक्षित राख्न सबैलाई सुरक्षा चेतना फैलाउनु,बेलाबेलामा घच्घच्याईरहनु आवश्यक देखिन्छ । स्थानिय सरकारहरुले यसका लागि स्थानिय युवा समुह,क्लब,टोलविकास संस्थाहरुलाई परिचालन गरेर सचेतना फैलाउदै नियमित कार्यक्रम अघि बढाउन सक्दछन् । माईकिङका माध्यमबाट, सामाजिक सञ्जाल मार्फत अभियान चलाएर, अथवा सुरक्षित रहँदै सामाजिक दुरी कायम गर्दै घरदैलो नै गरेर पनि त्यस्ता समुहहरुले सुरक्षाका विधि अपनाउन नियमित काम र अनुगमन समेत गर्न सक्दछन् । जसरी स्थानिय सरकारहरु र ति मातहतका वडाहरुले आफ्नो क्षेत्रमा काम गरीरहेका छन् त्यसरी नै सानो सानो युनिटमा टोल विकास संस्था,युवा समुह,आमा समुह,किर्तन समुह,फुटबल क्लब लगायतले पनि आफ्नो सानो सानो समुदायमा कोरोना संक्रमणलाई रोक्ने गरी व्यक्तिलाई सचेत गराएभने समुदायमा यसको संक्रमण रोक्न पनि सम्भव हुने देखिन्छ । कोरोना संक्रमणले बेलबारीमा देखाएको यो ‘प्रोमो’ बाटै स्पष्ट पुर्वसंकेत मिलिसकेको छ । अब पुरै दृष्य हेर्ने रहर बेलबारीवासी कसैलाई छैन । अझ ‘क्लाईमेक्स’ नियाल्ने कुरा त कल्पना पनि गर्न सकिन्न । बेलबारीवासी, यहाँको सरकार सबैले चेत्नु जरुरी छ ।

यो पनि पढ्नुहोस :