कोशी कोभिड १९ उपचार केन्द्रमा लक्षण देखिएका संक्रमितलाई प्राथमिकता दिईने

विराटनगर, १ भदौ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ ।
पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ ।’ कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिेलेटर सहितको सुविधा विस्तार गरिएको उहाँले बताउनुभयो । उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु वेड तयारी अवस्थामा राखिएको डा.सिग्देलले बताउनुभयो ।
आईसीयु र भेन्टिेलेटर वेडसँगै आवस्यक जनशक्तिलाई तालिमको प्रवन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रवन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । सुविधा विस्तारसँगै जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको प्रवन्ध गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेले बताउनुभयो ।
कोभिड १९ उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर सुविधा थपिएसँगै वेड संख्या १ सय पुगेको छ ।