हामीले पटक्कै नरुचाएको संस्कृत काले राईले किन पढे ?

रमेश _
स्कुले केटो हुँदा देखि नै एउटा नाम दिमागमा जरो गाडेर बसेको छ । त्यो नाम हो ‘काले राई’ । यो नामसँगको उत्सुकता र कौतुहलता उस्तै छ,उसबेलादेखि अहिलेसम्म पनि । कक्षा ७ मा पठ्ने स्कुलेहरुको कौतुहलता र जिज्ञासाको परिणाम स्वरुप कक्षा कोठामै काले राई को प्रसंग एकाएक प्रवेश गरेको थियो, त्यो बेला ।पुस्तकको पाठ्य वस्तु थिएन् । घोकेर,रटेर परिक्षामा लेख्नैपर्ने वाध्यताको विषय पनि थिएन् । तर त्यो नाम आज पर्यन्त दिमागमा ताजा बसेको छ । उबेला देखि अंकुराएको त्यो नामसँगको कौतुहलता अहिलेसम्म जिवित मात्रै हैन हृष्टपुष्ट र बलियो पनि छ ।
केही दिनदेखि त्यो नाम फेरी दिमागमा घुमीरहेकै थियो । एक जना अनन्य र अग्रज समेत रहेका एक ‘राइ’ सँगै काले राईका विषयमा चर्चा चल्यो पनि । कालेराईको जिवनी नियाल्दा दुखद लागे पनि छुटाउन नमिल्ने दिन ‘महिना र गते’स्मृति दिवस नजिकिँदैछ । त्यही दिनको पुनरावृत्ति नजिँकिदै गएको कारण पनि काले राईको चर्चा हामीविचको संवादमा प्रवेश गरेको थियो । केही लेखौ भनेर सोच्ने, तर लेख्न बसी नहाल्ने खराब बानी छँदैछ । संयोगले संस्कृत दिवस सम्बन्धी समाचार हेरियो । नेपालमा पनि केही न केही रुपमा ‘संस्कृत दिवस’ मनाइन थालेको रहेछ । काले राईसँग यो कुरा झनै सान्दर्भिक लाग्यो । संस्कृतकै कुरा गर्दा विद्यालय तहका लागि संस्कृत विषयको पाठ्यक्रम तयार भएको विषयले पनि केही महिना अघि देखि चर्चा पाएकै हो ।
बालापनको संस्कृत बहसमा काले राईको प्रवेश
बेलबारी स्थित कसेनी माध्यमिक विद्यालयका विद्यार्थी थियौं । सम्झिँदा लाग्छ हामी सबै ११ देखि १३ वर्ष विचका थियौं । वाध्यताले संस्कृत विषय पढ्नुपर्ने अवस्था थियो ।संस्कृतको एउटा किताव नै पठेर परिक्षा दिनुपर्ने अनिवार्य व्यवस्था थियो । आफुलाई पढाईमा कमजोर भन्न पनि मिल्दैन । तर, हामी सबैको लागि संस्कृत विषय भने हाउगुजी नै थियो । तत्कालिन नेकपा माओवादीले संस्कृतको पढाई बन्द गराउने रे भनेको सुनेका थियौ । खुबै खुसी लाग्थ्यो । परिक्षा भको उत्तरपुस्तिका नै जलाइदिए रे भन्ने पनि सुन्थ्यौं । यहाँ चै किन जलाउन आउँदैनन् ? मनमनमा प्रश्न उठ्थ्यो । आइदिउन् र प्रश्नपत्र जलाइदिउन आनन्द हुन्छ भन्ने चाहना उबेला हामी सबैलाई नै थियो । एक दिन त्यो चाहना पनि पुरा भयो । कनीकुथी गरिकन दिएको संस्कृत विषयको परिक्षाको उस्तपुस्तिका जलाइदिएछन् माओवादीले । जलाएको खरानी हामीले पनि देख्यौँ । खुबै खुसी लाग्यो । अब जिन्दगीमा संस्कृत भन्ने हेर्नुपनि नपरोस जस्तै भएको थियो ।
कलिला दिमागका भएपनि हामीविचमा बेला बेलामा कुनैपनि विषयमा छलफल तर्क वितर्क चल्ने गथ्र्यो । संस्कृतको उत्तरपुस्तिका जलाएको घटना ताजाताजै थियो ।संस्कृतकै चर्चा चल्दैगर्दा हामीविचमा संस्कृत कस्को भाषा हो भन्ने विषयमा तर्क वितर्क सूरु भयो । त्यो बेलाको ज्ञान,क्षमता,अध्ययनले भ्याएसम्म आ आफ्नो तर्क गर्यौ । दुई खालका तर्क आए । संस्कृत वाहुनको भाषा हो र हैन भन्ने । कलिलै दिमागले गरेको तर्क भएपनि निकै ‘जबरजस्त’ थियो दुवै पक्षको । हामी एक पक्ष यो वाहुनको भाषा हैन भन्थ्यौँ । अरु साथीहरु वाहुनकै भाषा हो भन्थे । किन बाहुनले मात्रै पुजा गर्दा, के के गर्दा पठछन् त? उनीहरुको प्रश्न थियो । वाहुनकै भाषा भए वाहुनको घरमा किन बोल्दैनन् त ? बिचमै प्रश्न उठ्थ्यो । हामीविचमा राई साथीहरु पनि थिए । उनीहरु मध्ये केही राई भाषा बोल्न पनि जान्दथे । तर संस्कृत बोल्न जान्ने वाहुन को छ त हाम्रो कक्षामा ? यस्तै तर्क र प्रश्नहरु भए तर वास्तविकता के हो त ? टुंगो लागेन । यसबारे जान्ने मान्छेबाट सुन्ने हाम्रो सल्लाह भयो ।
विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो प्रेमप्रसाद भट्टराई जो केही वर्ष अघि सुकुना वहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पनि हुनुभयो । उ बेला पनि प्रेमसर क्याम्पस पढाउनुहुन्थ्यो । क्याम्पसमा समेत पढाउने सर हाम्रो पनि सर भनेर हामी गर्व पनि गथ्र्यौ । प्रेम सरले धेरै कुरा जान्नुहुन्छ भन्ने छाप पनि हामीमाझ थियो । हामीले यस विषयमा प्रेमसरलाई नै सोध्यौँ । त्यसैबेला हो प्रेम सरले हामीलाई ‘काले राई’को उदाहरण सुनाउँदै संस्कृत भाषाको बारेमा बताउनुभएको । प्रेमसरले त्यसबेला भनेको र अहिले सम्म याद भएको काले राईसँग सम्बन्धित कुराहरु यस्ता थिए ।-
काले राई ३० वर्षको उमेर सम्म निरक्षर अनपढ हुनुहुन्थ्यो ।उहाँको निरक्षरताको विषयलाई लिएर धेरैले होच्याउने खालका तिखो बचन गर्थे । त्यही ईख र अध्ययन गर्ने चाहनाले समेत गर्दा उहाँले ३० वर्षको उमेरदेखि निकै कष्ट झेलेरै अक्षर चिन्न सिक्नुभयो । अध्ययन प्रतिको तिब्र चाहनाका अगाडी अरु काम र अप्ठ्यारा उहाँका लागि सामान्य विषय थिए । कसैको घरमा काम गर्न बस्दा सानो नानीले दिसा गर्न लाग्दा उहाँले हातमै दिसा थापेर भूइमा झर्न नदिइ सफा गरेर देखाइदिनुभएको थियो । ३० वर्षमा अक्षर सिक्न थालेको काले राईले पछि संस्कृत विषय पढ्नु भयो । संस्कृतमै धेरै पढेर वहाँ डाक्टर स्वामी प्रपन्नाचार्य बन्नुभयो । उहाँ पिएचडी गरेको डाक्टर हो । धेरै धेरै पढेपछि विद्यावारिधी अर्थात पिएचडी गरिन्छ । अनी नामको अगाडी डाक्टर लेख्न पाइन्छ ।
प्रेमसरको कुरा सुनेर हामी अचम्मित भयौं । यस्तो पनि हुन्छ र ?
प्रेमसरको त्यो जानकारीमा हामीलाई प्रोत्साहन गर्ने उद्देश्य पनि थियो । यथार्थ पनि । दृढइच्छा लगन,मेहनतले जुनै उमेरको व्यक्तिले पनि जस्तो सुकै कठिन काम गर्न सक्छ भनेर हिम्मत भर्ने प्रयास पनि थियो । ३० वर्षको उमेरमा पनि क,ख सिकेर यति धेरै पढ्न सम्भव हुने रहेछ । राईको छोरोमा पनि संस्कृत पठ्ने चाहना जागेछ ।सम्भव पनि हुने रहेछ ।बिरामीको उपचार गर्ने मात्रै हैन धेरै पढेपछि अरु व्यक्ति पनि पिएचडी गरेपछि डाक्टर हुने रहेछन् ।यस्ता दृष्टान्त र जानकारी हामीले त्यसबेला नै पाएका थियौँ । हाम्रा लागि ति नयाँ र अनौठा विषयहरु थिए ।
काले राई प्रतिको बढ्दो कौतुहलता
काले राईका बारेमा सुनेपछि उहाँलाई हेर्ने देख्ने, सुन्ने चाहना छँदैथियो । एउटा पुस्तकालयमा काले राई ( डाक्टर स्वामी प्रपन्नाचार्य)ले लेखेको पुस्तक ‘वेदमा के छ ?’ फेला परेको थियो । तर पढ्न त्यति रस भिजेन । त्यसपछि सुकुना वहुमुखी क्याम्पसमा पढ्दैगर्दा काले राई बेलबारी आउने भन्ने सुनियो । लाग्छ २०६३ साल तिर हो । बेलबारीको भगवती माविमा उच्चमावि कक्षा सञ्चालन गर्न बेलबारीमै आयोजना भएको पुराणमा काले राई (डाक्टर स्वामी प्रपन्नाचार्य) आउनुहुने रहेछ । कलेजबाट फर्केर घर नगै प्रपन्नाचार्यको प्रवचन सुनेको क्षण ताजै छ । मानिस सफल बन्नमात्रै जोड गर्ने हैन असल बन्न सक्नुपर्छ, असलता भित्रै सफलता पनि अटाएको हुन्छ भन्ने भावको उहाँका वाँणी स्मरण हुन्छ अहिले पनि । काले राई सहभागी केही टेलिभिजन सोहरु पनि हेर्ने मौका मिल्यो । उहाँ सहभागी भएका केही कार्यक्रम, उहाँलाई अभिनन्दन गरिएको कार्यक्रमको श्रव्यदृष्य सामग्री लगायत हेर्ने मौका मिल्यो । उहाँसँगकै कुराकानीमा आधारित रहेर डाक्टर गोविन्द टण्डनले लेखेको ‘राईबाबासँग साक्षात्कार’ पुस्तकबारे पनि थाहा भयो । पुस्तक खोजेर पढ्ने योजना थियो । यसैविचमा २०७२ साल भाद्र ४ गते काले राईको निधन भएको खबर सञ्चार माध्यममा आयो । (भाद्र ४ नजिकिँदै छ ) । केही समयपछि राईबाबासँग साक्षात्कार पुस्तक काठमाण्डौमा भेटियो । प्रश्नोत्तर ढाँचामा तयार भएको सो पुस्तकमा काले राईका जिवनका उतार चढाव,संघर्ष वेदना र सफलताका विषय समेटिएको छ ।
काले राई कस्ता ?
काले राईको जन्म विक्रम सम्वत १९८० मा पाँचथर जिल्लाको तत्कालिन फिदिम गा.वि.स.को बरडाँडामा भएको थियो । उहाँको वाल्यकाल देखि युवा अवस्थासम्मै निकै संघर्षपुर्ण थियो । उहाँ आफैले भन्नु भएको छ ‘मेरो ३० वर्षको उमेरसम्म भैंसी गोठाला,गाई गोठाला,नानीगोठाला गरेर र ढाकर बोकेरै वित्यो’ । अर्काको घरमा बसेर काम गरेरै भएपनि ३० वर्षको उमेरदेखि देवनागरी लिपिको क,ख सिक्ने वातावरण बन्यो । अरुले गरेको हेला होचो र तिरस्कारले नै ३० वर्षे उमेरमा पनि काले राईमा अब पढ्नैपर्छ भन्ने जोश पलाएर आएको थियो,इख बढेर गएको थियो । काले राईले संस्कृत विषय पढ्नुभयो । २०१८ सालमा भारतको गढवाल अगस्त्यमुनि तुलसी संस्कृत विद्यालयबाट प्रथमा, विक्रम सम्वत २०२५ मा लाला भगवानदास संस्कृत कलेजबाट उत्तरमध्यमा अर्थात इन्टर पास गर्नुभयो । उदासिन संस्कृत कलेज मीरघाटबाट आचार्य अर्थात एम ए गर्नुभयो । वेदान्तनयन भुषणम् शोधग्रन्थ प्रस्तुत भएपछि दिल्ली राष्ट्रि«य संस्थाले उहाँलाई विद्यावारिधी उपाधीले विभुषित गर्यो । अनि काले राई डाक्टर स्वामी प्रपन्नाचार्य बन्नुभयो । उहाँले कैँयौ अनुसन्धानात्मक कृतिहरु लेख्नुभयो ।
कालेराईको जिवनी जो कसैको लािग प्रेरणा नै प्रेरणाको पुञ्ज हो । बचनबाँण,हप्कीदप्की,घृणा तिरस्कार,हेला होचो व्यवहार कति सहनुप्यो भन्ने कुनै सिमा र हिसाब नै थिएन उहाँको जिवनमा । तर जिवनका ३ दशक वितिसकेपछि पनि अक्षरारम्भ गरेर संस्कृत जस्तो कठिन विषय पढ्ने हिम्मत राखेर अध्ययन थाल्ने र अध्ययन सफलताको उच्चतम् विन्दुसम्म पुग्ने काले राईको जिवन साहस र अग्रसरता,इख र इच्चाशक्तिको मुहान नै हो । जिवन सफलताको अनुपम नमुना हो । छुटाउनै नहुने र सिक्नैपर्ने पाठ्य वस्तु हो भन्दा फरक नपर्ला ।
अब संस्कृतको कुरा
स्कुले हुँदा हाम्रो बुझाइ अनुसार ‘क्लिष्टता’ सहितको संस्कृत यसैपनि हाम्रो प्रिय थिएन् । त्यसमाथी केही जातिविशेषको समुदाय विशेषको मात्रै भाषा हो भन्ने बुझाई त अहिले पनि छ । तर काले राईको संघर्षपुर्ण जिवनमा बल्तल्ल मिलेको अध्ययनको अवसरमा पनि रोजाई चै संस्कृत किन पर्यो होला ? उसबेला देखि यो प्रश्नले घेरीरह्यो अहिले सम्म पनि । प्रश्न उठ्दैमा सबै प्रश्नको जवाफ मिलि हाल्दैन रहेछ । यसो भन्दैमा सबै प्रश्नहरु अनुत्तरित भन्ने पनि हैन रहेछ । समयक्रमसँगै संस्कृतको ‘महत्व र आकर्षण’ बारेका जवाफहरु पनि मिल्दैछन् । स्कुल पढ्दा हामीले हेपेको हेला गरेको संस्कृत विश्वमा नाम कहलिएका विश्वविद्यालय हरुमा पढाई भैरहेका रहेछन् । देशमा आमुल परिवर्तन गर्ने भनेर हातमा हतियार बोकेर हिँडनेहरुले बहादुरी प्रदर्शन गर्दै उबेला ‘संस्कृत अक्षर लिखित कागज’ का खोस्टाहरु जलाए पनि आज युरोप अमेरिकाका तिब्र विकसित मुलुकहरुले समेत नजल्ने गरी र सजिलै भेटिने गरी ‘सफ्टकपी’ तयार गरेर संस्कृत विषयको अध्ययन र अध्यापन गराउँदै आएका रहेछन् ।
राईबाबासँग साक्षात्कार पुस्तकमा पनि काले राईलाई प्रश्न सोधिएको छ,राई परिवारमा जन्मिएको भएपनि ब्राम्हणले बाहेक अरुले संस्कृत पढ्नै हुन्न भन्ने जमानामा कसरी संस्कृत पढ्नुभयो ? राईको जवाफ छ – बस्तुतः संस्कृत कुनै वर्ण,जात,देशको एकलौटी पेवा हैन् । ब्राम्हणले बाहेक अरुले संस्कृत पढ्नुहुँदैन भन्ने संकीर्णता जातिवादले प्रश्रय पाएपछि बढ्दै गएको हो । संस्कृत सबैको हो । यसैले संस्कृत पढ्न कसैलाई रोकतोक छैन् । जुन भाषालाई यसको र त्यसको भनेर सीमावद्ध गन्छि त्यस भाषाले कहिल्यै पनि उन्नति र प्रगति गर्न सक्तैन । किरात क्षेत्रियहरु पनि संस्कृतका प्रकाण्ड विद्वानहरु थिए । विक्रमको पहिलो शताब्दी तिरका सबर स्वामी किरातै थिए । उनी त्यसबेलाका धुरन्धर विद्वान थिए । यस्तै गरी सयौ विद्वानहरुको चर्चा महाभारत,रामायण एवम् पुराण साहित्यहरुमा पाइन्छ । विं.सं.११५२ का हर्कवलि राई पनि मानिएका संस्कृत विद्वान् थिए ।
काले राईले थप भन्नुभएको छ ‘मेरो ३० वर्षको उमेरसम्म मलाई आलोचना,प्रत्यालोचना गरेर,हेपुवा,चेपुवा व्यवहार गर्नेहरुले नै मलाई संस्कृत पढ्ने महान् अवसर जुटाइदिए ।’ काले राईले संस्कृतलाई विश्वभाषा भन्नुभएको छ ।विश्वमा संस्कृतको महत्तालाई बुझेर संसारका सम्पन्न,विकसित मुलुकहरुले पनि पढ्ने पढाउने र अनुसन्धान गर्ने कार्यलाई आ आफ्ना ढंगले जारी राखेको पनि उहाँले उल्लेख गर्नुभएको छ । संस्कृतले धर्म र अध्यात्ममा मात्रै हैन ज्ञान विज्ञानको क्षेत्रमा पनि ठुलो योगदान पुर्याएको छ ।

काले राईलेमात्रै हैन संस्कृत अध्ययन गरेका,यसको मर्म र गहिराई बुझेकाहरुले भन्ने गरेका छन् संस्कृत भाषामात्रै हैन सभ्यता पनि हो । संस्कृत केवल संस्कृतका लागि मात्रै हैन विभिन्न जातिसमुदायका ईतिहाँस,संस्कृति सभ्यता अध्ययनका लागि पनि आवश्यक छ ।संस्कृत विविध जनसमुदायका भाषा साहित्यको सहयोगी पनि हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत अध्यापन गराउँदै आउनुभएका डाक्टर दिवाकर आचार्यका अनुसार नेवारी,मैथिली,तिब्बती,गुरुङ लगायतका संस्कृति सभ्यता बुझ्न पनि संस्कृत आवश्यक हुन्छ । बौद्ध धर्मका शास्त्रिय ग्रन्थहरु समेत संस्कृतमा रहेका छन. । त्यतिमात्रै हैन संस्कृतका विभिन्न नासिएका ग्रन्थहरु मैथिली,नेवारी लगायत भाषामा अनुदित भएर सुरक्षित पनि छन् । डाक्टर आचार्यका अनुसार यसरी बौद्धिक सम्पदा अध्यनका क्रममा संस्कृतबारेका कतिपय कुरा बुझ्न नेवारी,मैथीली लगायतका भाषा सभ्यता संस्कृतिको अध्ययन आवश्यक छ भने तत् तत् जनसमुदायको भाषा,सभ्यता,संस्कृति बुझ्न संस्कृत पनि आवश्यक छ ।
नेपालको सन्दर्भमा भाषा आयोगले विभिन्न भाषाको उत्थानका लागि काम गर्दै अघि बढ्ने क्रममा संस्कृत लगायत भाषाको पाठ्यक्रम तयार गर्न सिफारिस गरे बमोजिम विद्यालयतहमा पढाउन संस्कृतको पाठ्याक्रम तयार भएको उल्लेख छ । संस्कृत सँगै अन्य भाषाका पाठ्यक्रम तयार भएको र २६ भाषाका यस्तै नमुना पाठ्यक्रम समेत तयार भैसकेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । संस्कृत पठन पाठन हुने रे भन्ने खबरहरुबाट नकारत्मक तरंग आएको पनि महसुस भयो । पाठ्यक्रम विकास केन्द्रको जानकारीलाई आधार मान्ने हो भने विद्यालय वा विद्यार्थीले चाहेको अवस्थामा संस्कृत विषय पढाई हुनसक्ने व्यवस्था छ । जसरी संस्कृत विषय पढाई हुनसक्छ त्यसरीनै विभिन्न समुदायका मातृभाषा पनि पढाइ हुनसक्छ ।केन्द्रका अनुसार धिमाल,लिम्बु,मगर,वान्तवा राई,खालिङ राई, तामाङ लगायत मातृभाषाका नमुना पाठ्पुस्तक पनि तयार भैसकेका छन् ।
अन्त्यमा, यो वा त्यो कारणले संस्कृतमाथी वैरभाव वा अवहेलनाको दृष्टि राखेर भन्दा पनि यसलाई बहुसांस्कृतिक,वहुभाषिक समाजमा समन्वयात्मक ढंगले अध्ययन अनुसन्धानको विषय बनाउन सक्दा त्यसको लाभ चौतर्फी हुनसक्ला।संस्कृतमाथी रुचि जाग्दैमा,संस्कृतलाई पनि प्राथमिकतामा राख्दै नेपालका सम्पत्तिका रुपमा रहेका सयौ मातृभाषाहरुलाई अन्याय हुन्छ भन्ने सोचिनु पनि हुँदैन र अन्याय हुनुपनि हुँदैन् । बरु संस्कृतका माध्यमबाट विविध भाषा,संस्कृति,सभ्यताको खोज अनुसन्धानमा सहयोग मिल्ने हो भने यसको सदुपयोग समेत गर्नसकिन्छ । अध्ययन गर्न चाहनेका लागि नेपालमा संस्कृत अधययन संस्थाहरु नभएका पनि हैनन् तर, संस्कृत अध्ययनको महत्वको गहिराई,यसप्रतिको हेराई कस्तो छ भन्ने विषय चै महत्वपुर्ण हुनसक्दछ ।