सुन्दरहरैचामा विधालयको भवन निर्माण: तर कतिमा ? विधालयलाई जानकारी छैन

सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको एउटा विद्यालयको भवन निर्माण हुँदासम्म विद्यालयलाई सो भवन बनाउन कति रकममा ठेक्का लाग्यो भन्ने बारेमा थाहा छैन ।

वडा नम्बर ६ मा रहेको बुद्ध आधारभूत विद्यालयको हातामा निर्माण भइरहेको भवनका बारेमा जानकारी माग्दा सो विद्यालयका प्रधानाध्यापक पवन राईले आफूलाई तराई मधेश समृद्धि कार्यक्रम मार्फत् ४० लाख रुपैयाँ मात्र आएको थाहा भएको तर भवन बनाउन कतिमा ठेक्का लाग्यो भन्ने थाहा नभएको बताए । यसै विषयमा वडा नम्बर ६ का अध्यक्ष जीवनकुमार राईले ४४ लाखमा सम्झौता भएर काम भइरहेको बताए ।

भवन निर्माणको जिम्मा पाएको माँ ॐ विराट निर्माण सेवाका प्रमुख अमरदीप खड्कासँग सम्पर्क गर्दा उनले त चकित नै पारिदिए । उनले भने, ‘यो निर्माण कतिमा हुँदैछ भन्ने मलाई जानकारी छैन । निर्माण चाहिँ हुँदै थियो असार २५ गतेबाट निर्माण गर्दागर्दै साइटबाट हटेको अवस्था छ । हामीले काम गरेसम्मको रकम लिने हो । कति लियौँ त्यो पनि थाहा छैन ।’

नगरपालिकाले ६९ लाखको लागत अनुमान गरेर ठेक्का आह्वान गरेको जनाएको छ । प्रक्रियामा जाँदा ४१ लाख १४ हजार ३ सय ३३ रुपैयाँमा ठेक्का लागेको कुरा विद्यालय, वडाध्यक्ष र निर्माण सेवाका सञ्चालकलाई समेत पत्तो छैन । नगरपालिकाले असार २५ गतेसम्मको मूल्याङ्कनका आधारमा १६ लाख ९७ हजार ७ सय ३२ रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले बताए ।

तराई मधेस समृद्धि कार्यक्रमका लागि भदौमा बजेट आए पनि नगरपालिकाले भने चैत २० गते मात्र सम्झौता गरेर निर्माण सेवा कम्पनीले जेठ १६ गतेदेखि काम शुरु गरेको थियो ।

तीन कोठाको सो भवनमा हाल टाइबिमको काम सकेर इँटा जोड्न शुरु भएको छ । यो भवन निर्माणमा विद्यालयका शिक्षकले असन्तुष्टि जनाएका छन् । विद्यालयका शिक्षक युवराज आचार्यले विद्यालयले ४० लाखमा २ तले ६ कोठे भवन निर्माण गर्न नक्सा पेश गर्दासमेत नगपालिकाबाट ३ कोठाको मात्र निर्माणका लागि ठेक्का लगाएकोप्रति उनले गुनासो गरे ।

विद्यालयले भवन निर्माणमा लाग्ने लागतका बारेमा ठेकेदार र इञ्जिनियरलाई पटकपटक सोध्दासमेत किन रकम चाहियो, भवन चाहिएको होइन भन्ने जवाफ दिने गरेको शिक्षक आचार्यले बताए ।

गत आर्थिक वर्षमा तराई मधेस समृद्धि कार्यक्रममार्फत् सुन्दरहरैंचामा ५ करोड रकम विनियोजन भएको थियो । सो कार्यक्रममार्फत् आएको बजेटमा पछिल्लो समय निर्माण भएका संरचनाका बारेमा जनगुनासो आइरहेको छ ।