माधव-प्रचण्ड पदको बार्गेनिङमा लागेको भिम रावलको आरोप

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी विवाद नीति र सिद्धान्तलाई छाडेर पदमा केन्द्रित भएको बताएका छन्।

बालुवाटारमा मंगलबार भएको अध्यक्ष केपी शर्मा ओलीइतरका बहुमत स्थायी कमिटी सदस्यको बैठकमा बोल्दै रावलले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पदका लागि प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरिरहेको बताए।

‘तपाईंहरू हाम्रा टाउका गन्ने र पदको बार्गेनिङ गर्ने गर्न थाल्नुभयो,’ रावलले भने,‘पदबाहेक अरू कुरालाई गौण बनाइएको छ। यही ताल हो भने सधैं साथ दिन गाह्रो हुन्छ।’

यसअघि बैठकमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई जोगाइ राख्न आफूले दिएका ६ सुझावलाई आत्मसात् गरेर अघि बढ्नु पर्ने बताएका थिए।

बैठक बोल्दै अध्यक्ष प्रचण्डले अहिले धेरै उत्तेजित हुन नहुने बताएका थिए।

‘संवादका लागि प्रयास जारी राखौं, धेरै उत्तेजित नबनौं। पार्टी एकतालाई आघात पर्ने काम नगरौं,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘यो बैठकलाई स्थायी कमिटी बैठक नभनौं बहुमत स्थायी कमिटी सदस्यको बैठक भनौं।’

ओली पक्षका नेताहरूले बालुवाटारमा भइरहेको ओलीइतर समूहको बैठकमा बहुमत सदस्य नभएको दाबी गर्दै त्यो बैठक नभई खुमलटारमा हुनेजस्तै भेला भएको बताएका थिए।