मोरङ क्षेत्र नं ३ मा सुनिल शर्माले निशुल्क एम्बुलेन्स सेवा दिने


नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको क्षेत्र नं. ३ का गरिब, विपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् ।
नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका विपन्न बिरामीहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने भएका हुन् । आफ्नो गाउँ र आफूले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, विपन्नहरूलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागिएको डा. शर्माले जानकारी दिए । ‘पैसा नहुने गरिब, विपन्न र सुकुम्बासीहरूलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो,’ डा.शर्माले भने, ‘स्थानीय प्रतिनिधिहरूको सिफारिसमा विपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’
विपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउने सो क्षेत्रका अन्य बिरामीहरूले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । क्षेत्र नं. २ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराइनेछ । कांग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएपछि सो क्षेत्रका बिरामीहरूलाई सहजता मिल्ने भएको छ ।