विराटनगरका अस्पतालले बिरामी भर्ना नगर्दा एम्बुलेन्समै ज्यान गयो

विराटनगर । अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको हो ।कोरोना जाँचपछि मात्र उपचार गर्ने भन्दै अस्पतालले फर्काएपछि एम्बुलेन्समै मृत्यु भएको हो ।

विराटनगरका दुई ठुला अस्पताल नोबेला मेडिकल कालेज र कोशी अस्पतालले बिरामी लिना नमान्दा बिरामीको एम्बुलेन्समै मृत्‍यु भएको हो । अस्पतालमा सकुसल ल्याइपु¥याए पनि चिकित्सकले उपचार गराउन नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु भएकाे आफन्त रोमा गोलेले बताइन् । पदमको अनपेक्षित मृत्युपछि श्रीमती र बहिनी एम्बुलेन्समै बेहोस भएका थिए । अस्पतालले कोरोनाको शंकास्पद संक्रमित भन्दै बेहोस आफन्तको पनि उपचार गर्न मानेन ।