कोरोना त्रास सगै सुनसरीको इनरुवामा पुन लकडाउन

इनरुवा । पिसिआर परिक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुनसरी प्रशासनले लक डाउन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लक डाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

कोरोना पोजेटिभ भेटिएका व्यक्ति नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । मोरङ जिल्ला कार्यक्षेत्र भएका संक्रमित पुरुष सँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लक डाउन गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

इनरुवा ३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्ट्याकको अवस्था पहिचान गर्न थालिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परिवार सहित १२ जनाको ट्रेसिङ गरिएको छ । उनीहरुको स्वाब लिएर परिक्षण गर्ने तयारी थालिएको प्रसाईले जानकारी दिए ।

बिराटनगरमा गरिएको परिक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर र बजार पसलमा पुगेको जस्ता विषय अध्ययन गरी ट्रेसिङको काम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबिच कोरोना पोजेटिभ पाइएका व्यक्ति इनरुवाको मूख्य बजारमा रहेको दुर्गा स्टोरमा किनमेलका लागि पुगेको खुलेकाले उक्त पसल तत्कालकालागि सुनसरी प्रशासनले सिल गरेको छ ।