सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न तीन जना पक्राउ

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–३ मखनाहा टोलका २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन् ।

गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका ३ घर भई सिरहा नगरपालिका १७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए ।

प्रहरीको अनुसन्धानको क्रममा सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई मारेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।