राजेश खत्री
प्रजातान्त्रिक शासन प्रणाली सफल हुनका लागि अनेक पुर्वसर्तहरु हुनुपर्ने हुन्छ । शैद्धान्तिक रुपमा भन्ने हो भने प्रजातन्त्र एक अति नै उत्तम शासन प्रणाली हो । तर यी आधारभुत शिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दा अनेकौ खराबीहरु देखिने गर्दछन् । पश्चिमी उदारवादी प्रजान्त्रलाई अध्ययन गरि निष्कर्ष निकाल्दा प्रजातन्त्र निश्चित परिपाटी या वातावरणमा मात्र सफल हुनसक्दछ । लोकतान्त्रिक अभ्यासहरु असफल हुनुको पछाडि गरिबी,अविकसित अर्थनीति, अशिक्षा, राजनीतिक संस्कार, विभेदीकरण, सामाजिक अन्याय आदिको महत्वपुर्ण भुमिका रहेको हुन्छ । यति मात्र होइन जीवनस्तर, शिक्षा, व्यक्तिगत आचरण, व्यक्तित्व, आत्मनिर्भरता र आत्मविश्वासको स्तरले समेत लोकतन्त्रको चर हल्लाउने वा थाम्ने भुमिका निर्वाह गर्दछ । साथै प्रतिव्यक्ति आय बढी हुनु वा बढी शहरीकरण हुनु, वयस्क साक्षरतामा वृद्धि, बढी जनता शिक्षित हुनु, आमसञ्चारको अधिकतम प्रयोग, निर्वाचनमा बढी व्यक्तिको सहभागिता, सरकारको बजेट वा खर्च बढी, आर्थिक अनियमितता र नीतिहरुको उल्लङ्घन नै मुख्य आधार मानिन्छ । यति मात्र नभएर औद्योगिकरण, साक्षरता, शहरीकरण, सुदृढ आर्थिक सामाजिक स्थिती, कृषिमा कम व्यक्तिको निर्भरता र अन्य पेशाहरुमा आश्रित जनसङ्ख्याको उपस्थितीले समेत लोकतन्त्रको विकासमा प्रभाव पार्दछ । विशेषतः लोकतन्त्र सफल हुनका निम्ती निम्न तत्वहरुले प्रभाव पारेको हुन्छ ।
राष्ट्रिय चरित्र – राष्ट्रिय चरित्र यसको मुल तत्व हो, सामान्य नागरिक र शासक दुवै वर्गको कल्याणमा कर्तव्य परायणताको भावना राष्ट्रको भलाई र कल्याणमा अग्रसर हुनुका साथै राष्ट्रप्रेम, त्याग, बलिदान, आपसी एकता, इमान्दारिता, कर्तव्यपरायणता जस्ता गुणको विद्यमानताले राष्ट्रिय चरित्र मजबुत हुन जान्छ ।
सम्पन्न आर्थिक अवस्था – सम्पन्न आर्थिक अवस्थालाई लोकतन्त्रसँग जोड्ने गरिन्छ । उत्तर अमेरिका र युरोपमा भन्दा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको तेस्रो विश्वका राष्ट्रहरुमा राजनीतिक अस्थिरता हुनुको मुख्य कारण तेस्रो विश्वको गरिबी नै हो । त्यसैले लोकतन्त्र मजबुत हुनका निम्ति जनताको आर्थिकस्तर मजबुत हुन आवश्यक छ ।
आपसी समझदारी र निर्णय लिन सक्ने शक्ति– यसलाई पनि प्रजातन्त्र सफलताका लागि एक आवश्यक पुर्वाधार मान्न सकिन्छ । जनता र नेतृत्व बीच आपसी समझदारी कायम गरि बन्धुत्वको भावना सृजना गर्नुका साथै जनताहरु आफै राम्रो र नराम्रो, भ्रष्ट र इमान्दार, योग्य र अयोग्य छुट्याउन सक्नुपर्दछ ।
शिक्षित एवंं व्रिmयाशिल जनताको उपस्थिती– यसलाई प्रजातन्त्रको प्राण मान्न सकिन्छ । राज्यका अधिकांश जनता शिक्षित भएमा राजनीतिक स्थिरता र सङ्गठनको सृजनात्मक परिचालन बढी हुने कुरा निश्चय छ ।
समान कानुनी व्यवहार– सबै नागरिकहरु समानतामा आधारित मौलिक अधिकार सम्पन्न हुनु प्रजातन्त्र सफलताको आधार हो । लामो समयसम्म काला–गोराको भेदभाव भएको अमेरिका र हाल पनि यस्तो रङ्गभेदको सिकार बनेको दक्षिण अफ्रिकाको नामिविया र जाती भेदभावको प्रथा रहेसम्म नेपालमा प्रजातन्त्र फस्टाउन सक्दैन ।
स्थानिय स्वायत्त शासन– यसले सर्वसाधारण जनताको सहभागिता गराउनका साथै स्थानिय व्यवस्था र जनताहरुमाथि जवाफदेही र पारदर्शीता प्रस्तुत गर्न सक्नुपर्दछ ।
राजनीतिक चेतना एवं जागृति– जनतामा यो चेतना रहनाले प्रजातन्त्र फस्टाउँछ । नागरिकहरुलाई आफ्नो कर्तव्य र दायित्वको ज्ञान हुन्छ ।
कृषिप्रधान देश– कृषिप्रधान राष्ट्रमा भन्दा औद्योगिक राष्ट्रमा राजनीतिक स्थिरता बढी भएकाले प्रजातन्त्र सफल हुनसक्दछ ।
राजनीतिक दलको उपस्थिती– यसलाई पनि प्रजातन्त्रको सफलताको एक आधार मान्न सकिन्छ । तर राजनीतिक दलहरु साम्प्रदायिक, धार्मिक, जातजाती, भाषा, प्रादेशिक स्वार्थमा वा एक व्यक्तिको हितमा आधारित नभई सङ्गठनको आधार राजनीतिक विचार हुनुपर्छ ।
सामाजिक न्याय– प्रजातन्त्रका सफलताका लागि आवश्यक पर्ने अर्को महत्वपुर्ण तत्व सामाजिक न्याय हो । समाजमा सुविधायुक्त विशेष वर्गको उपस्थितीले शोषित पिडित एवं अपमानित वर्गको विद्यमानताले प्रजातन्त्रमा बाधा पार्दछ । त्यसकारण समाजका सबै वर्गमा परस्पर प्रेम, एकता, सहयोग, त्यागको भावना हुनुपर्दछ । कुनै जाती, धर्म, वर्ण, रुप र रङ्गलाई विशेष अधिकार प्राप्त हुनुहुदैन ।
स्वतन्त्र संविधान– स्वतन्त्र संविधान राज्यमा हुनाले गलत कानुन एवं आज्ञा अबैध घोषित हुन सक्दछ । न्यायलयमा व्यवस्थापिका र कार्यपालिका कसैको पनि नियन्त्रण रहनु्हुदैन ।
तसर्थ प्रजातन्त्र विधी र व्यवस्थित शासनको जगमा उभिएको हुन्छ । यस्तो व्यवस्थाभित्र सचेत, शिक्षित, समानता, आपसी सद्भाव, सामाजिक न्याय, विभेदीकरणको अन्त्य, राष्ट्रियताको भावना, समान कानुनी व्यवहार, नागरिक सदाचार, सुदृढ र आधुनिक वैज्ञानिक प्रशासन, आधुनिक समाज, नागरिकहरुलाई पर्याप्त अधिकार एवं स्वतन्त्रताको उपस्थितीले लोकतन्त्रको सम्मान र हैसियतलाई उच्च राख्दछ ।
(लेखक नेपाली कांग्रेस बेलबारीका नगर सविच हुन।)