ईन्द्रपुर स्वास्थ्य चौकिमा वृक्षारोपण

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षारोपण गरेको छ ।
इन्दपुर स्वास्थ्य चौकीको परिसरमा धुपी, स्वमी, साइक्रस, आँप लगायत अन्य विभिन्न प्रजातिका ५५ वटा विरुवाहरु रोपीएको छ ।

वडा नम्बर १२ का वडा अध्यक्ष रोशनप्रसाद ढकालले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । रोजगार कार्यक्रममा सहभागी हुन यस वडामा १७ जनाले फारम भरेर रोजगार पाएका हुन् ।
पाँच दिन सम्म काम गरेका उनीहरुले दैनिक ५ सय ५० रुपैँया प्राप्त गर्ने साथै वडा कार्यालयले कोभिड १९ को महामारीमा राहत पाउने परिवारलाई प्राथमिकताका साथ यो रोजगार कार्यक्रममा समाबेस गरिएको वडा सचिव अनिल पोख्रेलले बताए ।

वृक्षारोपण कार्यक्रममा वडाअध्यक्ष रोशन प्रसाद ढकालले यो स्वास्थ्य संस्थामा वार्षिक ३८ हजार सेवाग्राहिहरु आउने र विरामी भएर उपचार गराउन आउदा पहिले फोहोर, झाडी भएकोले स्वास्थ्य संस्थालाई हराबरा स्वच्छ बनाउन यो कार्यक्रम गरिएको बताए ।

यस्तै स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पतालको रुपमा विकास गर्न पहल भइरहेको समेत वडा अध्यक्ष ढकालले बताए ।
स्वास्थ्य चौकीका प्रमुख लिलामणी दाहालले स्वास्थ्य जस्तो सम्वेदनसील ठाउँमा जस्तो सुकै विरामी आए पनि सुन्दर रमणीय ठाउँ देखेर थोरै भए पनि विरामीलाई शान्त महसुस हुने बताउदै यसलाई संरक्षण र सम्बर्द्धन गर्न लागीपर्ने बताए ।