गोठगाउँको कोरोना उपचार केन्द्रबाट ३३ जना निको भएर फर्किए


मोरङको सुन्दरहरैंचा गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको कोभिड १९ उपचार केन्द्रको आईसोलेशनबाट ३३ जना निको भएर सोमबार घर फर्केका छन् । कोरोना संक्रमण पुष्टि भएर त्यहाँ उपचाररत उनीहरुको पछिल्लो दोस्रो पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएर फर्कनेमा १८ देखि ५६ वर्ष उमेर समूहका ३३ जना रहेका छन् ।
डिस्चार्ज हुनेहरुमा मोरङका ५ जना, झापाका २० जना, सुनसरी का २ जना, ताप्लेजुङ १ जना, संखुवासका ३ जना र खोटाङ २ जना छन् । उनीहरुको डिस्चार्जपछि अस्पतालमा अब ४२ जना उपचाररत बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिनु भएको छ । पीयू कोभिड–१९ उपचार केन्द्रबाट मात्रै हालसम्म २२७ जना डिस्चार्ज भईसकेका छन् । त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म ६ जनालाई वीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो । रेफर गरिएकाहरु समेत उपचारपछि घर फर्किसकेका छन् । गोठगाउँस्थित सो उपचार केन्द्रमा हालसम्म २७५ जना भर्ना भईसकेका छन् ।
प्रदेश १ मा जम्मा संक्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको संख्या ६०४ जना पुगेको हो । प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना संक्रमित उपचाररत रहेका छन् ।