प्रहरीको जागिर खाइदिने धम्की: धम्की दिने मण्डल पक्राउ

मोरङ । प्रहरीलाई धम्की दिने तस्करीमा संलग्न विराटनगर–१५ का ३९ वर्षीय रामजी मण्डललाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरीलाई तस्करीको लाइन खुलाउनु पर्ने भनेर गत असार १४ गतेदेखि निरन्तर दबाब र धम्की दिइरहेको पाइएपछि मण्डल पक्राउ परेका हुन्।

अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने, हाकिमलाई भनेर कारबाही गर्न लगाउने र जागिरसमेत खाइदिने धम्की दिएको भन्दै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध केही दिनअघि अभद्र व्यवहार मुद्दा दर्ता गरिसकेको थियो । मुद्दा दर्ता भएको थाहा पाएर फरार बनेका मण्डललाई शुक्रबार राति रानी क्षेत्रबाटै पक्राउ गरिएको जानइएको छ ।

नेपाल–भारत सीमा क्षेत्र रानीमा रहेको चाइना मार्केटमा मण्डलको किराना पसल छ । त्यही पसलको आडमा उनले मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी धन्दा चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।