वन्यजन्तुको बास भएको २४० कोठे भवनमा औषधी उत्पादन हुने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा नरपालिका वडा नम्बर ११ स्थित बेलेपुरमा रहेको सुवर्ण फर्मास्युटिकल सञ्चालन गर्नुपर्ने भन्दै प्रदेश सांसद राजकुमार ओझाको नेतृत्वमा नेकपाको टोलीले धरान स्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएको छ ।

तुन्दी कन्ट्रक्सनले निर्माण शुरु गरेको २ सय ४० कोठा भएको ४ ओटा भवन ५ बिघा क्षेत्रफलमा फैलिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको छ । तर आन्तरिक खिचातानीका कारण हाल उक्त २ सय ४० कोठा भएको ४ वटा भवन वन्यजन्तुको बासस्थान बन्न पुगेको छ ।

सुवर्ण फर्मास्युटिकलले पेनसिलिन र ट्याब्लेट औषधी बनाउन भनेर अत्याधुनिक भवन बनाएको थियो । अहिले कुनै प्रयोजनबिना वर्षाैंदेखि अलपत्र अवस्थामा रहँदा भवन भताभुङ्ग, लथालिङ्ग अवस्थामा पुगेको भन्दै नेकपा सुन्दरहरैचा कमिटीले धरान स्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएको छ ।

प्रतिष्ठानका तत्कालीन डाक्टर भोगेन्द्र आचार्यका अनुसार, गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सो भवन निर्माण गरिएको थियो । यस अघि कमलमणि दीक्षितले भक्तपुरको आर्मी क्याम्प छेउमा यस्तै प्रकारको भवन बनाएका थिए तर त्यहाँ चलाउन नसकेपछि तत्कालीन इन्द्रपुर गाविस वडा नम्बर ७ बेलेपुरमा बनाउने निर्णय भएको आचार्यले बताए ।

प्रदेश सांसद ओझा सहितको टोलीलाई आश्वासवन दिदै विपिका उपकुलपती डा ज्ञानेन्द्र गिरीले ९ महिनादेखि एक वर्षभित्र उत्पादन शुरु हुने गरी सञ्चालन गर्ने तयारीमा रहेको बताए ।