बेलबारीको बागदेवी वनमा ९ सय किबि काठ गायब भएपछि छानविन समिति गठन


बेलबारी २ स्थित बागदेवी सामुदायिक वन उपभोक्ता समुहमा मौज्दात काठको हिसाब नमिलेपछि अनियमितताको आसंकामा छानविन समिति गठन गरिएको छ । गत कात्तिकमा भएको समुहको ११ औ साधारणसभाबाट नयाँ कार्यसमिति आएसँगै मौज्दात काठ विक्रि प्रकृयाका लागि बुझ्ने क्रममा ९ सय किवि भन्दा धेरै काठको हिसाब नदेखिएपछि अनिमितता हुनसक्ने प्रश्न उब्जिएको हो ।
अहिले समुहसँग रहेको ५ सय ५२ किबि काठ विक्रि प्रकृया अघि बढाउन लाग्दा थप ९ सय ४७ किबि काठ समेत मौज्दात रहने देखिएको उपाध्यक्ष रामचन्द्र भट्राईले बताए । तर ९ सय ४७ किबि काठको हिसाब स्पष्ट नभएपछि त्यसकै खोजीका लागि छानविन समिति गठन गरिएको हो । १० औ साधारणभाबाट निर्वाचित कार्यसमितिले काठको हिसाब बुझाउनुपर्ने हुन्छ । समितिमा वर्तमान अध्यक्ष फडिन्द्र थापा रहेका छन् । अघिल्लो कार्यसमिति पनि थापाकै अध्यताको कार्यसमिति रहेको थियो ।
मौज्दातमा देखिएको काठ कहाँ खपत भयो भन्ने हिसाब किताव नदेखिएपछि छानविन समिति गठन भएको समुहका सहसचिव भुवन कार्कीले जानकारी दिएका छन् । गठित छानविन समितिमा राजेश खत्री,कविन्द्र धिमाल,शिव रुपाखेती,डिल्लीराम ढकाल लगायत ६ जना सदस्य रहेका छन् । छानविन समितिका सदस्य कविन्द्र धिमालले आफुलाई छानविन समितिमा रहेको जानकारी सहितको पत्र प्राप्त भएको बताएका छन् । तर छानविनका प्रकृयाका लागि बैठक बस्ने लगायतका कामहरु सुरु भैनसकेको धिमालले बताए ।