सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच अन्तरक्रिया होस् भनेर सार्वजनिक सुनुवाइ गरिएको वडा कार्यालयले जनाएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका प्रश्नको वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सचिव अनिल पोखरेल तथा नगरपालिकाका इञ्जिनियरलगायतले जवाफ दिएका थिए । सहभागीले वडामा पानीको निकासको समस्या रहेको बताएका थिए । कोरोनाका कारण ढिलो सम्झौता भएका योजनाको काम यो आर्थिक वर्षमा नसकिने भएकाले ती समस्या कसरी समाधान गर्ने भन्ने समस्या आएको सहभागीको भनाइ थियो । त्यस्तै, वडा कार्यालयमा हेल्प डेस्कको स्थापना गर्न लागत साझेदारीमा पटकपटक उपभोक्ता सामेल हुनुपर्दा समस्या परेको सहभागीको भनाइ थियो ।

सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष ढकालले पहिल्यै घर निर्माण भइसकेका कारण पानीको निकासको समस्या भएको बताए । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर वडा र नगरले चासो दिइरहेको उनले बताए । स्थानीय सरकारसँग सम्झौता भई काम भइरहेका विकास निर्माणका योजनालाई क्रमागत योजनामा राख्न सकिने पनि उनले वडावासीलाई जानकारी दिएका थिए । आवश्यक परेमा हेल्प डेस्क राखिने जानकारी दिँदै लागत साझेदारीको रकम वर्षैपिच्छे घटिरहेको उनले वडावासीलाई जानकारी दिएका थिए । सामाजिक संस्था, पाटी, पौवा, सुकुम्बासी बस्तीमा लागत साझेदारी नलाग्ने पनि उनले जानकारी दिए ।

विराटचोक–घिनाघाट सडकमा जग्गा परेका वडावासीले सो सडकको पनि राजस्व तिर्नुपरेको विषयमा पनि सहभागीले प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै वडाध्यक्ष ढकालले विराटचोक– घिनाघाट ४ लेन सडकको भर्खरै मापदण्ड बनेकाले अब लगत कट्टा हुने हुनाले वडावासीले सडकको राजस्व तिर्नु नपर्ने बताए ।
विराट मिडिया एण्ड एडभरटाइजिङ प्रालिको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवा प्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाब फरफारक लगायतका विषयमा सेवाग्राहीले राखेका जिज्ञासको जवाफ दिइएको थियो ।