सुन्दरहरैचाको अभियान फुसको छानो हटाउदै जस्तापाता दिदै

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा खरका छाना भएका घर हटाउन थालिएको छ । नगर क्षेत्रलाई खरका छानामुक्त बनाउने अभियान अनुसार आइतबारदेखि जस्तापाता बाँड्न थालिएको हो ।

सुन्दरहरैचाले सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान नाम दिएर यो काम सुरु गरेको छ’, सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले भने, नगरपालिका भित्रका २ सय ४० खरका छानालाई यसै वर्ष विस्थापन गर्ने योजना छ ।

खरको छानो असुरक्षित हुने भएकाले विपन्नलाई लक्षित गरेर यस्तो अभियान सुरुवात गरिएको नगरप्रमुख ढकालले बताए ।

नगरले सबै वडामा जस्तापाता पठाइसकिएको नगरप्रमुख ढकालले बताए । सुन्दरहरैचा नगरपालिकामा १२ वटा वडा रहेका छन । नगरले यो वर्ष एक वडा २० घर गरि १२ वटै वडाका २ सय ४० घरमा जस्तापाता लगाईदिने नगरप्रमुख ढकालले बताएका छन ।

कुनै पनि नागरिक पैसाको अभावकै कारणले खरको छानोमा बस्ने बाध्यता नहुने भन्दै अब रहरले मात्रै खरको छानोमा बस्ने बहेक कसैको घरमा पनि खरको छानो नहुने नगरप्रमुख ढकालले बताए ।