झरी अनि सडकको दुर्दशा: सुन्दरदुलारी उधोग वाणिज्य संघको ध्यानाकर्षण पत्र

सुन्दरहरैचा । जब जब झरी पर्छ तब सडकको अवस्था माथी बोल्न मन लाग्छ । सरकार त्यति खेर मात्र जाग्छ तब जनताले आवाज उठाउछन । हो यस्तै अवस्था छ मोरङको सुन्दरहरैचा नगरपालिकामा पर्ने पुर्व पश्चिम लोकमार्गमा पर्ने सडकको ।

लामो समय भत्किएको अवस्थामा रहेको पुर्व पश्चिम लोकमार्गलाई हाल सडक डिभिजन कार्यालय मोरङले मर्मत सम्भार गर्ने कार्यलाई अगाडि बढाएको छ । तर सडक मर्मत सम्भार गर्दा निर्माण कम्पनीले ध्यान नदिदा सडकमा आवतजावत गर्न सर्वसाधारणलाई समस्या परेको छ ।

सुन्दरदुलारी उधोग वाणिज्य संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ : सुन्दरहरैचा नगरपालिकाको ५ र ४ को सिमानाको रुपमा रहेको पुर्व पश्चिम लोकमार्गको कृष्ण आयल प्रा. ली. देखि बासबारी सम्म करिब ३०० मिटर सडक खण्ड सडक डिभिजन कार्यालय मोरङले मर्मत सम्भार गर्ने कार्यको लागि मेसिन प्रयोग गरि बाटो भत्काई सकेको अवस्था रहेकोमा भत्काइएको ढुङ्गा , माटो , कालोपत्रेको कच्चापदार्थले सडकको दुवै तर्फ भरिन गई वर्षाताको पानी सडकमै जम्मा भई सडक अवरुद्द हुन गई दुर्घटना निम्ताउन सक्ने सम्भावना भएकोले उक्त कच्चापदार्थ हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौ ।

सडक डिभिजन कार्यालतले सहि निर्माण कम्पनी छनौट गर्न नसक्दा केह महिना अघि देखि भत्किएको सडक मर्मत सम्भार गर्न पुन टेण्डर आह्वान गरेको थियो ।

पहिलो पटक सडक निर्माण गर्दा भत्किएको सडकमा सडक डिभिजन कार्यालय मोरङले दोश्रो पटक सोही निर्माण कम्पनीलाई मर्मत सम्भार गर्न लगाएको थियो तर सडक पुन भत्किएपछी तेस्रो पटक नया टेण्डरको आह्वान गरेको थियो ।

संघका अध्यक्ष कार्कीले व्यस्त लोकमार्गको सडक मर्मत गर्दा सडक डाइभर्सन गरि बनाइनु पर्नेमा डाइभर्सननै नबनाई सडक मर्मत गर्दा सडक अवरुद्द हुने , दुर्घटना हुन सक्ने र सडकको अवस्था पनि कमजोर हुने हुदा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले ध्यान दिनुपर्ने बताए ।

उनले सडक डिभिजन कार्यालयले असारे झरीमा गरेको मर्मत सम्भारको पनि औचित्य नभएको बताउदै सडक मर्मत तथा सम्भार गर्दा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।