राति १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

काठमाडौ । गृह मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अब राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दुरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन गृहले भनेको छ । त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।