कोरोना त्रास : समाजसेवामा रोकिएनन ढकाल

बेलबारी । न उहाँ चिकित्सक, न प्रहरी । उहाँ जनप्रतिनिधि पनि होइन । सञ्चारकर्म पनि उहाँको पेशा होइन । तर, पनि सुन्दरहरैंचाको बिराटचौकका युवा राजेन्द्र ढकाल यति बेला अग्रपंक्तिमा रहेर कोरोना नियन्त्रण र सचेतना अभियानमा सक्रिय छन ।

ढकालको टिम कहिले विपन्न बस्तीमा सचेतना फैलाइरहेको हुन्छ भने कहिले अग्रभागमा रहेर कोरोना सँग जुधिरहेका प्रहरी र सञ्चारकर्मीसँग हुन्छ । विश्वभर कोरोना भाइरस(कोभिड–१९)को महामारी फैलिरहेको बेला सार्वजनिक हैषियतका अधिकांस मानिस ज्यान जोगाउन घरबाट बाहिर निस्केका छैनन् । जो बाध्य भएर जोखिमको सामना गरिरहेका छन् । तिनीहरूको सुरक्षाका लागि ढकाल अहोरात्र खटिरहेका छन ।

शनिवार ढकालले इलाका प्रहरी कार्यालय बेलबारी परिसरमा आधुनिक प्रविधिको हात धुने पानीटंकी राखिदिएका छन । सर्व साधरणको चाप हुने प्रहरी कार्यालयमा प्रवेश गर्नु पूर्व हात धुनका लागि पानी र सावुनको ब्यवस्था मिलाएको ढकालको भनाई छ ।

ढकालको टिमले यस अघि पनि जिल्ला प्रहरी कार्यालय मोरङ,प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय पथरी, बेलबारी र हरैचामा माक्स, सेनिटाइजर,ग्लोव लगायतका सामग्री प्रदान गरेको थियो । यस्तै प्रहरी चौकी कानेपोखरी,रमाइलो, गछिया र विराटचौक, ससस्त्र प्रहरीका क्याम्पमा समेत उहाँ लगायतको युवा समूहले हेड कभर,माक्स, ग्लोव र सेनिटाइजर प्रदान गरेको थियो ।

प्रहरी सबैभन्दा अग्रभागमा रहेर काम गरिरहेका छन् । त्यसैले प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेका हौं – ढकालले भने । ढकालको युवा समूहमा खोर्साने सामूदायिक विकास केन्द्रका अध्यक्ष कृष्ण घिमिरे ,युवा समाजसेवी अर्जुन गजुरेल,समाजसेवी समीर बस्नेत,प्रजातन्त्रवादी प्राध्यापक संघ ,सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष रमेश खतिवडा ,समाजसेवीहरू खेम दाहाल,समीर बस्नेत, देव श्रेष्ठ लगायत युवाहरु छन ।