वातावरण दिवसमा बेलबारीमा वृक्षारोपण


जेठ २३
विश्व वातावरण दिवसको अवसरमा सव डिभीजन वन कार्यालय बेलबारीको परिषरमा शुक्रबार वृक्षारोपण गरिएको छ । डिभीजन वन कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रममा लहरे पिपल (पपुलस),राजवृक्ष,तथा आँप,लिचि लगायत फलफुलका विरुवा समेत रोपिएको थियो । सोही अवसरमा विभिन्न प्रजातीका आँप,लिचि,कागती तथा कटहरका विरुवा समेत निशुल्क वितरण गरिएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।


वातावरणिय सन्तुलन तथा जैविक विविधताको संरक्षण विश्वकै आवश्यकता रहेकोले बेलबारी नगरपालिकाले वृक्षारोपणको कार्यलाई नितिगत र व्यवहारिक रुपमै महत्व दिएको नगरप्रमुख सुवेदीले बताउनुभएको छ । वातावरण प्राणी जिवनसँग सम्बन्धित भएकाले विरुवा रोप्ने हरियाली कायम गर्ने ,उद्यमशिलता व्यवसायिकता समेत बढाउने उद्देश्यले नगरपालिकाले सव डिभीजन वन कार्यालयसँग समन्वय गरिरहेको पनि सुवेदीले बताउनुभयो । बेलबारीको पहिचानसँग पनि जोडिएको बेलको रुख नगरभित्र हुर्काउन सव डिभीजन वन कार्यालय बेलबारीमा १० हजार विरुवा उत्पादन गरिएको पनि सुवेदीले जानकारी दिनुभएको छ । आउँदा दिनमा पनि समन्वयका साथ २५ हजारको संख्यामा बेलका विरुवा उत्पादन गर्ने उद्देश्य रहेको सुवेदीले बताउनुभएको छ ।समुदायलाई आयमुलक ढंगले जोड्दै वातावरण संरक्षणमा सहयोग पुग्ने गरी बेलका रुख रोप्ने हुर्काउने,फल उत्पादन गरिने नगर प्रमुख सुवेदीले बताउनुभएको छ ।
सव डिभीजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दिपेश कुमार मिश्रले सुरक्षित जिवनको लागि जैविक विविधता भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाउने सन्दर्भमा वृक्षारोपण र विरुवा वितरण कार्यक्रम गरिएको बताउनुभयो । यसै वर्ष निशुल्क वितरण गर्नेगरी ढेड लाख विरुवाहरु कार्यालयको नर्सरीमा उत्पादन भएको पनि मिश्रले जानकारी दिनुभएको छ । एक वर्षे विरुवाहरु १ लाख र वहुवर्षे ५० हजार विरुवाहरु उत्पादन भएको र निशुल्क वितरण गरिने भएकाले सबैलाई जानकारी गराउन पनि मिश्रले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा डिभीजन वन कार्यालय मोरङका सहायक वन अधिकृत इन्द्रदेव राउत,बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहका संयोजक दिनेश गिरी,इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकाल,डिभीजन वन कार्यालय मोरङ,तथा सव डिभीजन वन कार्यालयका कर्मचारी प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।