जनता भोक-भोकै: प्रदेश १ का मन्त्रीलाई करोडौको गाडी

विराटनगर । बजेट अभावले जनता भोकले मरीरहेका बेला प्रदेश १ सरकारका एक मन्त्रीले २ करोड बराबरको गाडी खरिद गर्न लागेका छन् ।

लकडाउनका बेला आफ्ना लागि २ करोड ७ लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् ।

कोभिड संक्रमणले आर्थिक क्षति पुर्‍याउने भएकाले गाडी लगायतका विलासिताका सामग्री खरिद नगर्ने स्पष्ट नीति भए पनि प्रदेश १ सरकारका वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री कुसियतलाई सरकारी नीतिले प्रभावित गरेको छैन ।

मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले प्रदेशका अन्य मन्त्रीहरूले चढे अनुसारको गाडी मन्त्री कुसियतले पनि चढ्न लागेकाले यसलाई अन्यथा मान्न नहुने बताए । ‘अहिले मन्त्रीज्यू पुरानै गाडी चढिरहनुभएको छ, अरू मन्त्रीको नयाँ गाडी छ । सबैको समान होस् भनेर नयाँ गाडी खरिद गर्न लागिएको हो,’ उनले भने ।

प्रदेश १ को सरकारले कोरोनाको संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग जुटाउन ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ स्थापना गरेको छ । तर त्यही सरकारले भने मन्त्रीको लागि भन्दै विलासिता को सामान खरिद गर्ने निर्णय गरेको छ ।

प्रदेश १ का सांसद सुयर्मा राईले जनताले राहत नपाईरहेको अवस्थामा सरकारले गाडी खरिद गर्न नहुने बताएका छन । उनले भने मन्त्रीलाई गाडीको आवश्यकता छ तर आवश्यकता छ भन्दैमा विलाशिताको सामाग्री अहिले खरिद गर्ने उपयुक्त समय नभएको बताए ।

सरकारले ल्याएको नीति व्यवहारमा नभएर सिमित पानामा मात्र रहेको उनले बताए । सरकारले विभिन्न शिर्षकको खर्छ कटौती गरिरहेको बेला मन्त्रीले करोडौको गाडी खरिद गर्न लाग्नु हास्यास्पद रहेको सांसद राईले बताए ।