बेलबारीमा पर्यटकिय महत्वको जनयुद्ध पार्क शिलान्यास



बेलबारी नगरपालिका २ मा पर्यटकिय विशेषता सहितको जनयुद्ध स्मृति पार्क शिलान्यास भएको छ । मुलुकमा आमुल परिवर्तनका लागि भनेर सञ्चालित जनयुद्ध,ज्यान गुमाउने सहिद तथा विभिन्न ढंगले योगदान गर्ने व्यक्तिहरुको समेत सम्झना स्वरुप पार्क निर्माण हुन लागेको जनयुद्ध स्मृति प्रतिष्ठान नेपालले जनाएको छ । मंगलबार एक कार्यक्रमका बिच पार्कको शिलान्यास गरिएको हो । प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश १ का सह इन्चार्ज सावित्री काफ्ले, नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेत, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गर्नुभएको हो । नगरप्रमुख सुवेदीले प्रदान गर्नुभएको ८ विगाहा जग्गामा पार्क निर्माण हुन लागेको हो । प्रदेश १ सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ७३ लाख ६१ हजार र जनयुद्ध स्मृति प्रतिष्ठान नेपालबाट लागत साझेदारीको ८ लाख १७ हजार रुपैयाँ गरी कुल ८१ लाख ७९ हजार रुपैयाँको लागतमा पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण सहितको काम गरिने भएको छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात,यसका विभिन्न रुप र चरण हुँदै तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध सम्मका घटनाक्रम स्मरण गराउने गरी पार्क निर्माण हुने छ । कम्युनिष्ट आन्दोलन तथा जनयुद्ध चरणमा भएका सामग्री गतिविधि लगायत पनि संग्रहित गरेर संग्रहालय समेत निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष काफ्लेले जानकारी दिनुभएको छ ।
जनताले जनताकै लागि सुरु गरेको युद्धका नामबाट पार्क निर्माण हुनु ईतिहाँसको गौरब गाथा स्थापित गर्ने विषय भएको नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतले बताउनुभएको छ । जनयुद्धले नै गणतन्त्र स्थापना सुनिश्चित गरेकाले यसको महत्व झल्काउने पार्क र संग्रहालय जनताको प्यारो सम्पत्ती हुने बस्नेतको दावी छ ।
पार्कलाई पर्यटकिय क्षेत्रका साथै रोजगारी एवम् प्राविधिक शिक्षा प्रदान गर्ने स्थलको रुपमा समेत अघि बढाएने प्रतिष्ठानका उपाध्यक्ष एवम् नगरप्रमुख सुवेदीले बताउनुभएको छ । लोहन्द्रा खोलामा तटबन्धन सहितको पार्क निर्माण सम्पन्न हुँदा स्थानियले यसको वहुपक्षिय लाभ लिन सक्ने पनि प्रतिष्ठानले दावी गरेको छ ।