प्रदेश १: कोरोना संक्रमितको संख्या १६७, निको हुनेको संख्या ४८ पुग्यो

विराटनगर । प्रदेश १ बाट थप १८ जनाले कोरोना जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् ।

उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको  छ । यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका थिए ।

प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।