यी हुन प्रदेश १ मा कोरोना जित्ने ६ जना


बैशाख २४
प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका मध्ये ६ जना निको भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचारपछि निको भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन्् । प्रदेश १ मा भेटिएका कोरोना संक्रमित निको भएको यो पहिलो पटक हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनिहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए ।
उनिहरुको स्वास्थ्यमा सुधार आई कोरोना रिर्पोट नेगेटिभ आएपछि सबैलाई बुधबार अस्पतालबाट विदाई गरिएको हो । डिस्चार्ज भएकाहरुलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन बस्नुपर्ने छ । त्यहाँ १० शैयाको शौचालयसहितको क्वारेनटाइन तयार गरिएको छ ।
कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २८ वर्षीय मोहम्मद जावेद, २९ वर्षीय मोहम्मद अजिज, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । अस्पताललमा उनिहरु भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिनुभयो ।

Image may contain: one or more people and outdoor


उहाँले भन्नुभयो,‘‘चिकित्सकको निगरानीमा उपचार गरी स्वास्थ्य लाभ गरेर उहाँहरु जानु भएको हो ।’’ अब क्वारेन्टाइनमा बसेपछि उनिहरुको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्नेसमेत निगरानी हुनेछ । आवश्यक परे परीक्षण पनि गरिने छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनिहरुलाई प्रदेश सरकारले कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याएको थियो । अस्पताल भर्ना गराइएका १२ जनामध्ये ६ जना बुधबार डिस्चार्ज भएका हुन् । उनीहरुसंगै आएका बाँकीको अस्पतालमै उपचार भईरहेको छ । कोभिड १९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।