प्रदेश १ मा १२ जनामा कोरोना पुष्टि भएसँगै अब ‘द्रुत क्रियात्कम’ कदम आवश्यक

बैशाख ५
प्रदेश नम्बर १ मा एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार प्रदेश १ को उदयपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश नम्बर १ को भुगोल भित्र कोरोना संक्रमण पुष्टि भएको यो नै पहिलो घटना हो भने नेपालमा एक दिनमै यति धेरै संक्रमण पुष्टि भएको पनि यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयको फेसवुक पेजमा उल्लेख जानकारी अनुसार प्रदेश १ को उदयपुर जिल्लामा १२ जना संक्रमित भेटिएकामा सबै पुरुष रहेका छन् । संक्रमित मध्ये २० वर्ष देखि ४० वर्षसम्मका पुरुषहरु रहेका छन् । उदयपुरमा नयाँ संक्रमित पुष्टि भएकाहरुमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय रहेका छन् । संक्रमित १२ जनालाई नै विराटनगरस्थित कोसी अस्पतालको कोरोना विशेष अस्पतालमा लगिएको छ । यस्तै शुक्रबार नै चितवनमा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।
यस अघि सम्म सुदुरपश्चिम प्रदेशलाई बढि जोखिमको क्षेत्र मानिएको थियो । प्रदेश १ मा यसअघि संक्रमित फेला नपरेको अवस्था रहेको थियो । तर एकै पटक यति धेरै संख्यामा संक्रमित फेला परेपछि नेपालको कोरोना संक्रमणको अवस्थामा अब नयाँ र त्रासयुक्त स्थिति मान्न सकिन्छ । अब सबै तहका सरकार र आम नागरिक निकै नै गम्भिर भएर चुनौतीको सामना गर्नुको कुनै पनि विकल्प छैन् ।
संक्रमितहरु उदयपुरको भुल्केस्थित एक मस्जिदमा क्वारेन्टाइनमै रहेको बताइएपनि क्वारेन्टाइन बसाई कतिको सुरक्षित थियो र अन्य व्यक्तिको आवत जावत,भेटघाट सम्पर्क कस्तो थियो भन्ने कुरा निकै महत्वपुर्ण हुन आउँछ । संक्रमितहरुको गतिविधिको पृष्ठभुमी,संक्रमणको स्रोत, कन्ट्याक ट्रेसिङ लगायतका आधार संक्रमण फैलावटको अवस्था,सम्भावित संक्रमितको पहिचान जस्ता विषयहरु चुनौतीपुर्ण छन् । पछिल्लो वास्तविकता समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलने ‘कम्युनिटी ट्रान्समिसन’ को अवस्था झेल्नुपर्ने चुनौतीको चाङ र खतराको घण्टी त हुँदै हो । सडक नाका बन्द गर्ने,गाउँबस्ती वा बजार शिल गर्ने जस्ता कामहरु सुरु पनि भएको देखिएको छ । तर यस्ता कामपनि व्यवहारिक र वैज्ञानिक हुनुपर्दछ । विशेषज्ञता र विज्ञताका आधारमा हुनुपर्दछ । तत्काल सुरु भएर युद्धस्तरमा अघि बढुनुपर्दछ ।
संवेदनशिल अवस्थाको गाम्भिर्यलाई बुझ्न ढिलो भयो र उदासिनता प्रदर्शन भयो भने कोरोनाले निम्त्याउने ‘घातक परिणाम झेल्नुपर्ने’ र ‘कहाली लाग्दो तथ्यांक’ प्रस्तुत गर्नुपर्ने ‘क्षण’ हामीबाट टाढा रहीरहन सम्भव छैन् ।
सम्बन्धित र छिमेकी स्थानिय सरकारहरु, प्रदेस सरकार र संघिय सकारको समन्वयात्मक, अति उच्च र विशेष रणनिति तथा योजनाका साथ ‘द्रुत क्रियात्कम’ कदम तत्काल र निकै सुझबुझपुर्ण ढंगले अघि बढाइहाल्नुपर्ने आवश्यकता देखिन्छ ।
कोरोना संक्रमण फैलन नदिन सरकारको जति महत्वपुर्ण भुमिका छ नागरिकको भुमिका त्यो भन्दा कम छैन् । फरक यति हो सरकारले निश्चित भुगोलको ठुलो समुहको जिम्मेवारी बोध गरेर काम गर्नुपर्ने हुन्छ । कोरोना संक्रमण विरुद्ध सरकारले तय गरेको योजना र घोषित कार्यक्रममा एक जना नागरिकको मात्रै असहयोग रह्यो भने पनि त्यसको परिणाम भयावह हुन सक्छ । नागरिक आफु जिम्मेवार नबन्नु भनेको पहिलो सिकार आँफै हुनु हो । त्यसपछि आफ्नो परिवार वा आफ्नै अविभावक र सन्तति पिडित हुने हो । एक व्यक्तिको लापरवाहीले विस्तारै समाज वा समुदाय सम्म पनि घातक अवस्था आइपर्न सक्छ ।