बेलबारीमा शनिबार ५० जनाको RDT कोरोना परिक्षण हुने, १ जनाको ‘थ्रोट स्वाव’ पिसिआरका लागि पठाइदै


बैशाख ३
र्‍यापिड डाइग्नोष्टिक टेष्ट RDT विधिबाट बेलबारीमा सुरु गरिएको कोरोना परिक्षणका क्रममा १ जनाको थ्रोट स्वाव समेत संकलन गरिएको छ । रियल टाइम पोलीमरेज चेन रियाक्सन PCR प्रविधिबाट कोरोना परिक्षणका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरिएको हो । मंगलबार १६ जनाको र्‍यापिड टेष्ट किटबाट परिक्षण गरिएको थियो । ती मध्ये १ जना पुरुषको थ्रोट स्वाव लिइएको र संकलित स्वावको नमुना विहिबार विराटनगरको कोसी अस्पताल स्थित कोरोना परिक्षण प्रयोगशालामा पठाइने बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । र्‍यापिड टेष्ट भएकामध्ये १० प्रतिशतको पिसिआर टेष्ट समेत गर्नुपर्ने भएकाले स्वाव संकलन गरिएको हो । नगरपालिकाले द्रुत निदान परिक्षण अर्थात र्‍यापिड डाइग्नोष्टिक टेष्ट RDT विधिबाट कोरोना परिक्षणलाई पनि निरन्तरता दिइरहेको छ । आउँदो वैशाख ६ गते शनिबार थप ५० जनाको र्‍यापिड किट मार्फत कोरोना परिक्षण गरिने विश्वकर्माले जानकारी दिनुभएको छ । विहिबार र शुक्रबार सबैलाई परिक्षणका लागि आउन सुचना दिने तथा घरमै गएर पनि आग्रह गरिने र शनिबार परिक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ । र्‍यापिड टेष्ट विधिबाट परिक्षण गर्न तथा तथा पिसिआर टेष्टको लागि स्वाव संकलन गर्न बेलबारी १ स्थित नगरपालिकाको नँया भवनमा नमुना संकलन वुथ सहित स्वास्थ्यकर्मीको टोली खटिएको विश्वकर्माले जानकारी दिनुभएको छ । विभिन्न मुलुकबाट फर्किएर बेलबारी नगरपालिका भित्र आएका ९८ जनाको द्रुत निदान परिक्षण अर्थात र्‍यापिड डाइग्नोष्टिक टेष्ट RDT विधिबाट कोरोना परिक्षण गरिँदैछ । परिक्षण गर्नेहरुको सुचीमा १९ जना महिला र बाँकी पुरुष रहेका छन् ।
विभिन्न देश बाट बेलबारी नगरमा आएका १ सय ४ जना मध्ये ६ जनाको भने यसअघि नै रियल टाइम पोलीमरेज चेन रियाक्सन PCR प्रविधिबाट कोरोना परिक्षण गरिएको थियो भने कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन् ।