कानेपोखरी गापाद्वारा कांग्रेसको सहयोग अस्विकार, बेलबारीसहित ३ पालिकालाई ३० लाख

alt

चैत २७
गएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उमेद्वार रहेका डाक्टर सुनिल शर्माले सो क्षेत्रका पालिकाहरुलाई कोरोना विरुद्धको अभियानमा सघाउन ३० लाख ३६ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । नोबेल मेडीकल कलेज विराटनगरका सञ्चालक एवम् कांग्रेस महासमिति सदस्य समेत रहनुभएका शर्माले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफुले चुनाव लडेको मोरङ क्षेत्रनम्बर ३ का ४ वटै पालिकाहरुलाई रकम प्रदान गर्ने योजना भएपनि कानेपोखरी गाउँपालिकाले भने सहयोग रकम अन्तिम समयमा अस्विकार गर्ने बताएको थियो ।
शर्माले बेलबारी,सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिकालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । बेलबारी नगरपालिकामा विहिबार आयोजित रकम हस्तान्तरण कार्यक्रममा शर्माले बेलबारी नगरपालिकाका प्रमु्ख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार रुपैँयाको चेक हस्तान्तरण गर्नुभएको थियो । यस्तै सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रशाद ढकाललाई ८ लाख ७५ हजार र पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार रुपैयाँको चेक प्रदान गर्नुभएको थियो ।
डाक्टर शर्माले आफु र आफ्नो परिवार नै विगतमा महामारी पिडित बनेको समेत सम्झनुभयो । महामारीमा आफ्नो परिवारले भोगेको जस्तो पिडा अरुले भोग्न नपरोस र राहत प्रदान गर्न तथा सुरक्षात्मक उपायहरु अवलम्बन गर्न पालिकाहरुलाई सहयोग पुगोस भनेर रकम प्रदान गरेको डाक्टर शर्माले बताउनुभएको छ ।
बेलबारी नगरपालिकाका प्रमु्ख ज्ञानेन्द्र सुवेदीले यो विपद र महामारीको अवस्थामा बाँच्ने र बचाउने कुरा महत्वपुर्ण भएकाले डाक्टर शर्माले गरेको सहयोग प्रसंसनिय रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले विपदका बेलामा डाक्टर शर्माले गरेको सहयोगले राहत वितरणमा ठुलो सहयोग पुग्ने र अन्य व्यक्तिहरुलाई पनि सहयोग गर्न समेत प्रेरित गरेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस मोरङका कोषाध्यक्ष गोपाल थापा, प्रदेश सांसदहरु लोकप्रसाद संग्रौला,शेखरचन्द्र थापा, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुली, प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह, काग्रेस माहासमिति सदस्यहरु बसन्त भट्टराई,महेन्द्र सुवेदी,ललित श्रेष्ठ,नगेन्द्र कट्टेल, कांग्रेस मोरङ संगठन विभाग प्रमुख मानबहादुर लिम्बु,क्षेत्रिय सभापति गणेश खड्का,नेकपा जिल्ला सदस्य तथा बेलबारी नगर इन्चार्ज इरान राई,नगर अध्यक्ष पर्शुराम सुवेदी, कांग्रेस बेलबारी सभापति शम्भु भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो ।
उता कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले भने सहयोग रकम अस्विकार गर्ने बताएपछि गाउँपालिकाका वासिन्दाले पाउने राहत नै कटौती भएको भन्दै काफ्लेको आलोचना भएको छ । शर्माले कानेपोखरी गाउँपालिकालाई ५ लाख रुपैयाँ प्रदान गर्ने बताउनुभएको थियो । लकडाउनले गर्दा दैनिक ज्यालादारी गरेर छाक टार्ने अवस्थाका सयौ परिवारलाई सो रकमले पर्याप्त राहत पुग्ने अवस्था हुने भएपनि सहयोग रकम नलिने अध्यक्ष काफ्लेको निर्णयले विपन्न वर्गका परिवारमाथी अन्याय भएको कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदीले बताउनुभयो । कोरोना भाइरसको महामारी तथा लकडाउन घोषणा भएको यो विषम परिस्थितिमा हरेक पालिका तथा सरकारले सबैको सहयोग रकम सहर्स स्विकार गरेर विपद व्यवस्थापनमा सदुपयोग गरिरहेका छन् । तर, विपदका बेलामा पनि सहयोग रकम नलिने कानेपोखरी गाउँपालिकाको कदमले संकटमा पनि राजनितिक पक्षधरताबाट प्रेरित हुने गलत संस्कारको सुरुवात गरेको सुवेदीले बताउनुभयो ।
डाक्टर शर्मा मोरङ क्षेत्रनम्बर ३ मा थोरै मतान्तर पराजित उमेद्वार हुनुहुन्छ । शर्मालाई पराजित गरेर सांसद बन्नुभएका भानुभक्त ढकाल अहिले स्वास्थ्यमन्त्री समेत हुनुहुन्छ । मन्त्री ढकालले यो विषम परिस्थितिमा आफ्नो निर्वाचन क्षेत्रमा ठुलो महत्व राख्ने कुनै कदम चाल्न नसकेको र उल्टै स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामा ढकालको समेत नाम मुछिएको अवस्थामा डाक्टर शर्माले ठुलो राहत प्याकेज ल्याउँदा नेकपा वृत्तमा यसले ल्याएको हलचलकै कारण अध्यक्ष काफ्ले सहयोग रकम लिन नआएको स्रोतले बताएको छ । मन्त्री ढकाल निकट रहेका काफ्ले ढकालकै निर्देशनमा अन्तिम समयमा आएर सहयोग अस्विकार गर्न वाध्य भएको हुनसक्ने समेत बताइएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममै डाक्टर सुनिल शर्माले सहयोग अस्विकार गरेकोमा दुख व्यक्त गर्नुभएको थियो । डाक्टर शर्माले विपदका बेलामा आफुहरु जसरी पनि जनतासम्म राहत लिएर पुग्ने बताउनु भएको छ । यसैविच नेपाली कांग्रेसले कानेपोखरी गाउँपालिकाका १५ सय घरधुरीलाई राहत सामग्री प्रदान गर्ने जनाएको छ ।