नगरको सर्बदलिय निर्णयलाई लत्याउँदै बेलबारी काँग्रेसले बाँड्यो राहत

बेलबारी । नेपाली काँग्रेस बेलबारी ३ नं. वडा समितिले ११० घर परिवारलाई राहत वितरण गरेको छ । कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा वडा भित्र रहेका विपन्न परिवारलाई मंगलबार राहत वितरण गरिएको हो ।

सोमबार मात्र बसेको सर्वदलिय बैठकले एकद्वार प्रणालीबाट राहत सामाग्री वितरण गर्ने निर्णय गरेपनि नेपाली काँग्रेस बेलबारीले भने उक्त निर्णयलाई वेवास्ता गर्दै भोलिपल्टै विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
बेलबारी नगरपालिका यो असहज परिस्थितिमा प्रचारमुखी मात्र बनिरहेको सन्दर्भमा बेलबारी काँग्रेसले भने दैनिक ज्यालादारी गरी बिहान बेलुकाको छाक टार्न बाध्य हुने विपन्न वर्गका घर परिवारहरुलाई भोकै बस्नुपर्ने बाध्यात्मक परिस्थितिलाई तत्काल सामाधान गर्न राहत वितरण गरीएको काँग्रेस बेलबारी नगर कोषाध्यक्ष जनक पोख्रेलले बताए । रोग र भोकले कुनैपनि नागरिक नमरोस भनेर खाद्यन्न लगायतका सामाग्रीहरु वितरण गरेको पोख्रेलले बताए ।

नगरपालिकाले अहिलेसम्म नगरभित्रका विपन्न बर्गहरुलाई २ हप्ता वितिसक्दा पनि कुनैपनि किसिमको राहत वितरण नगर्नु, विपन्न वर्गका जनता खान नपाएर भोकभोकै बस्दा पनि मिटिङ मात्रै बसी निर्णय गर्ने तर जनता भएसम्म राहत नपु¥याउने ढिलासुस्तीपुर्ण कार्य जनप्रतिनिधिहरुले अभिभावकत्व ग्रहण नगरेको प्रस्ट आभाष भएपछि नेपाली काँग्रेसले बाध्य भएर राहत वितरण गरेको वडा नं ३ का वडा सदस्य विपिन आचार्यले बताए ।
नगरपालिकाले सोमबार बेलुका मात्र बेलबारी बजार क्षेत्रमा पर्ने केहि सडकमा जनताको आँखामा छारो हाल्ने किसिमले किटनासक औषधि छर्किएकोमा स्थानीबासीले मेयरको आलोचना समेत गर्न थालेका छन । अन्य नगरपालिकाहरुमा भने घरका सटरहरुमा, भित्री सडकहरुमा समेत किटनासक औषधि छरेको अवस्थामा बेलबारीमा भने मुख्य सडकमा मात्र छरेर जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै स्थानीय आक्रोसित रहेको कुरा भुमेडाँडा टोल बिकास संस्थाका अध्यक्ष सामेल राईले बताए ।

वडाभित्रका भुमेडाँडा, सुन्दर टोल, मालपोत टोल, शान्ती टोल, बिजुली अफिस, भगवती टोल, सहकारी टोल क्षेत्रमा रहेका अति विपन्न परिवारलाई प्रति परिवार १० केजि चामल, १ केजी दाल, १ पोका नुन, १ केजी सरफ, ३ वटा नुहाउने साबुन, १ पोका तेल, भाँडा माझ्ने साबुन ३ वटा लगायत सामाग्रीहरु वितरण गरिएको वडा सभापति शेषराज घिमिरेले बताएका छन ।
वडा सभापति घिमिरेको संयोजकत्वमा भएको राहत वितरण कार्यमा महाधिबेसन प्रतिनिधि रुकमणी धिमाल, ३ नं वडाका वडा अध्यक्षका प्रत्यासी नवराज सुवेदी, काँग्रेस नगर सचिव उपेन्द्र सुवेदी, विवेक सिटौला, सीयोम सुवेदी, सीता सुवेदी, टिका धिमाल, लगायतको उपस्थिति रहेको थियो । काँग्रेस बेलबारी नगरले राहत वितरण कार्यलाई अन्य वडाहरुमा पनि निरन्तरता दिने नगर कोषाध्यक्ष जनक पोख्रेलले बताए ।

त्यस्त बेलबारी वडा नं ५ मा पनि बेलबारी टोल बिकास संस्थानले राहत वितरण गरेको छ । बुधबार श्रमिक महिला समुह बेलबारीले १ नं वडामा ५० घर परिवारलाई राहत वितरण गर्ने तय भएको समुहले जनाएको छ ।