नगरपालिकाको निर्णयलाई धज्जी उडाउदै बेलबारी काँग्रेसले बाँड्यो राहत

बेलबारी । नेपाली काँग्रेस बेलबारी १ वडा समितिले नगरपालिकाको निर्णयलाई नटेरी राहत बितरणलाई निरन्तरता दिएकोे छ । कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा शनिबार वडा भित्रका ८० घर परिवारलाई राहत वितरण गरेको समितिले आइतबार थप ४० घर परिवारलाई राहत वितरण गरेको छ ।

लक डाउन भएको एक साता बितिसक्दा पनि दैनिक जिविकोपार्जन गर्न कठिन अवस्थाका नागरिकहरुलाई नगरपालिकाले कुनै राहत बितरण नगरेको अवस्थामा रमिता मात्रै हेर्ने गरेकोले आफुहरुले चुलोमा आगो समेत बल्न नसक्ने अवस्थाका परिवारलाई राहत वितरण गर्नुपरेको वडा सभापति बाबुराम श्रेष्ठले बताए ।
नगरपालिकाको उक्त निर्णय जे भए पनि जनता भोक भोकै बसेको अवस्थामा आगामी दिनमा अन्य वडामा समेत थप राहत वितरण गर्ने श्रेष्ठले बताए ।
शनिबार नक्सल, ढुकुरे चौक, सब्जी हटियामा राहत वितरण गरेको समितिले आइतबार शिसौली चौक, लोहोनी कित्ता र गुम्बा लाइनमा राहत वितरण गरेको हो ।
टोल बिकास समितिले छनौट गरेका अति विपन्न घर परिवारलाई १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको वडा सभापति श्रेष्ठले जानकारी दिए ।

वडा सभापति श्रेष्ठको संयोजकत्वमा भएको राहत वितरण कार्यमा क्षेत्रिय सदस्य केदार अधिकारी, युवा नेता राजेशजंग कार्की लगायतको उपस्थिति रहेको थियो ।
बेलबारी नगरपालिकाको सनिबार बसेको बैठकले कुनैपनि संघसंस्थाले आफुखुसी राहत वितरण गर्न रोक लगाउने निर्णय गरेपनि नेपाली काँग्रेस बेलबारी नगरले भने राहत वितरण कार्यलाई निरन्तरता दिने वडा सभापति श्रेष्ठले बताए ।