बेलबारीमा कोरोनाविरुद्धको पुर्वतयारी :१५ बेडको आइसोलेसन वार्ड स्थापना

चैत ७
बेलबारी नगरपालिकाले कोरोना भाइरस विरुद्धको पुर्वतयारी स्वरुपमा १५ शैयाको अस्थाई आइसोलेसन वार्ड स्थापना गरेको छ । बेलबारी १ स्थित नगरपालिकाको नयाँ भवनमा शुक्रबार आइसोलेसन वार्ड स्थापना गरिएको हो । नगरभित्र कोही व्यक्तिमा कोरोना संक्रमणको लक्षण वा चिन्हहरु देखिएका चिकित्सकको सिफारिसमा त्यस्ता व्यक्तिहरुलाई आइसोलेसन वार्डमा राखिने छ । कसैलाई आइसोलेसन वार्डमा राख्नुपर्दा त्यस्ता व्यक्तिहरुलाई नगरमा रहेका स्वास्थ्यकर्मीकै निगरानीमा राखिने भएको छ ।

नगर कार्यपालिकाको गत विहिबार बसेको बैठकको निर्णय अनुसार तत्कालै आवश्यक सामग्री जुटाएर आइसोलेसन वार्ड निर्माण गरिएको बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ ।‘कोरोनाको संक्रमण हुनैनदिनेमा हाम्रो उच्च सतर्कता र प्राथमिकता रहेको छ ।’ नगरप्रमुख सुवेदीले भन्नुभयो‘कथंकदाचित कसैमा कुनै लक्षण वा संकेत देखिएमा त्यस्ता व्यक्तिलाई आवश्यक सतर्कता सहित आइसोलेसन वार्डमा राखिने छ । स्वास्थ्यकर्मीको उच्च निगरानीमा राखिनेछ ।’
तत्कालका लागि नगरपालिका स्तरमा गरिने पुर्वतयारी अनुसार आइसोलेसन वार्ड निर्माण गरिएपनि संघिय सरकार र प्रदेश सरकार संगको नियमित सम्पर्क समन्वय तथा उच्च तहका स्वास्थ्य सम्बन्धित निकायसँगको समेत समन्वयमा आवश्यकता अनुसारका कदम चालिने पनि मेयर सुवेदीले जानकारी दिनुभएको छ ।‘हामी नगरवासी कसैमा पनि संक्रमणको अवस्था आउन नदिन एकदमै सचेत छौं ।’ सुवेदीले भन्नुभयो‘ संकास्पद अवस्था वा कसैमा लक्षण देखियोमात्रै भनेपनि हामी तत्काल आइसोलसेनमा राख्ने र थप उपचारका लागि रेफर गर्ने लगायतका काम गर्छौ’