शारिरिक सुगठनमा स्वर्ण जित्ने बेलबारीका मनोज सम्मानित


चैत ६
नेपाल च्याम्पियन राष्ट्रव्यापी शारिरिक सुगठन (बडी विल्डिङ) प्रतियोगितामा ६५ केजी तौल समुहमा सर्वोत्कृष्ट हुनुभएका बेलबारीका मनोज सुवेदीलाई विहिबार सम्मान गरिएको छ । ६५ केजी तौल समुहमा स्वर्ण पदक जित्ुनभएका मनोज नेपालभरबाट (ओभरअल राउण्ड) समग्रमा चौथो हुनुभएको थियो । बेलबारी ३ का मनोजले कठिन मेहनत र परिश्रमका साथ शारिरिक सुगठन खेलका माध्यमबाट आफुलाई उत्कृष्ट सावित गर्दै सिंगो बेलबारीकै पहिचान उच्च बनाएको भन्दै ड्रिमल्याण्ड फन प्रालीले सम्मान गरेको हो । ड्रिमल्याण्ड फन प्रालीमा विहिबार भएको कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले मनोजलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मनोजले खेलका माध्यमबाट बेलबारीलाई चिनाएको तथा मेहनतका साथ लाग्दा सफलता प्राप्त हुनेरहेछ भन्ने सन्देश समेत प्रवाह गरेकाले बधाइ सहित सम्मान गरिएको ड्रिमल्याण्ड फन प्रालीका सञ्चालक विजय सुवेदीले बताउनुभएको छ । मनोजलाई प्रोत्साहन स्वरुप सयपत्री मल्टीप्रपोज प्रालीका सञ्चालक माधवराज थापाले पनि नगद ११ हजार रुपैयाँको चेक प्रदान गर्नुभएको छ ।


सम्मान ग्रहण पछि मनोजले अनुभव सुनाउँदै आफु लागु औषध प्रयोगकर्ताबाट अहिलेको अवस्थासम्म आइपुगेको बताउनुभएको थियो । लागु औषध छोडेर र कठिन मेहनत पश्चातमात्रै यो सफलता हात परेको भन्दै मनोजले आफ्नो सफलतामा हरेक ढंगले सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभएको छ । बडी विल्डिङ पनि एउटा खेल रहेछ भनेर आफुले बुझाउने प्रयास समेत गरेको मनोजले बताउनुभएको छ । अब बेलबारी नगरले पनि यो खेललाई ध्यान दिनुपर्ने र आफुले पनि खेलको विकासमा सक्दो सहयोग गर्ने बताउनुभएको छ । बेलबारी नगरपालिकाका प्रवक्त्ता योगेन्द्र सुवेदीले नगरपालिकाले खेलकुद ऐन ल्याएकाले अब त्यसकै प्रावधान बन्ने खेलकुद समितिले शारिरिक सुगठन खेलको विकासमा पनि ध्यान दिने बताउनुभएको छ । कार्यक्रममा सामाजिक व्यक्तित्व महेन्द्र सुवेदीले मनोजले खेलका माध्यमबाट बेलबारी चिनाएको भन्दै बधाइ तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।