बेलबारी चिसाङ साझेदारी वनको साधारणसभा

फागुन १८
बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहको चौथो साधारणसभा आइतबार सम्पन्न भएको छ । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा आयोजित साधारणसभामा समुहको प्रगति तथा प्रस्तावित कार्ययोजनाबारे छलफल भएको छ । वन विकास,संरक्षण,नदी किनार संरक्षण,संस्थागत विकास लगायत क्षेत्र समेटेटिएको प्रस्तावित कार्ययोजना प्रस्तुत भएको थियो ।
प्रदेश १ सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा बोल्नुहुँदै राज्यमन्त्री विश्वासले वन साझेदारी वन क्षेत्रलाई व्यवस्थित गर्न नयाँ कानुनहरु आवश्यक रहेकोले त्यो निर्माणको क्रममा रहेको जानकारी दिनुभएका छ । प्रदेशसभामा विधेयक पेस भएकाले अब त्यो पास भएसँगै निर्देशिकाहरु समेत बन्ने राज्यमन्त्री विश्वासले बताउनुभएको छ । सुरुमा केही अप्ठ्यारो अवस्थाहरु देखिएपनि वन ऐन तथा निर्देशिकाहरु निर्माण गरेपश्चात साझेदारी वनका माध्यमबाट वन विकास र वन पैदावरहरुको समुचित वितरण लगायतका कार्य व्यवस्थित हुने राज्यमन्त्री विश्वासले दावी गर्नुभएको छ । कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले वनसंरक्षण र वन क्षेत्र सँग जोडिएका सम्भावनाका क्षेत्रहरुलाई विकास गर्न नगरपालिका पनि अग्रसर रहेको बताउनुभएको छ ।
कार्यक्रममा डिभीजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले साझेदारी वन समुहले वन विकास र सर्वसाधारणलाई वनको उच्चतम सेवा प्रदान गर्नेगरी कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । साझेदारी वनहरुले दक्षिणी भेगका वासिन्दालाई सम्बोधन गर्न उपयुक्त योजनाका साथ अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहका संयोजक दिनेश गिरीले वन विकास र वन पैदावर वितरणका क्षेत्रमा देखिएका चुनौतीहरुलाई सामना गर्दै राम्रो कार्यसम्पादनमा ध्यान दिइने बताउनु भएको छ । उहाँले काठदाउरा वितरण सहज बनाउँदै उपभोक्तालाई लाभान्वित गराउने र खाली र खुला क्षेत्रमा वृक्षारोपण गर्दै वन विस्तार गर्ने कार्यक्रम पनि समुहले ध्यान दिने बताउनुभएको छ ।
कार्यक्रममा बेलबारी वडानम्बर ४ का वडाध्यक्ष रामकुमार राई, बेलबारी सानाशहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष महेन्द्र सुवेदी,चिसाङ सामुदायिक वन उपभोक्ता समुह लेटाङका अध्यक्ष पुण्यप्रसाद खतिवडा,लोहन्द्र केराबारी साझेदारी वन व्यवस्थापन समुहका संयोजक सन्दिप नारायण खाँ लगायतले पनि बोल्नुभएको थि यो ।