बेलबारीमा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु


फागुन १७
मोरङको बेलबारीमा शनिबारबाट आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा सुरु भएको महोत्सव फागुन २४ गतेसम्म चल्नेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले महोत्सवको उद्घाटन गर्नुभएको हो । बेलबारी ३ स्थित पेट्रोलपम्प दक्षिणमा महोत्सव आयोजना भैरहेको छ ।
जातिय संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने र साथै नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुर्याउने उद्देश्यले सांस्कृतिक तथा पर्यटन महोत्सव गरिएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटन हुनुअघि विभिन्न जातजातिहरुको सांस्कृतिक झाँकी तथा र्याली सहित बेलबारी बजार परिक्रमा गरिएको थियो । जातिय रितिरिवाज र परम्परा अनुसार जातीय भेषभुषा र बाजागाजासहित पुरानो बेलबारीबाट शुरु भएकोे झाँकी बजार परिक्रमा गरी महोत्सवस्थल पुगेको थियो ।
‘आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गरौं, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पारौं’ भन्ने नारासहित आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली सहित बेलबारीका राजनितिक दल,विभिन्न जातिय संस्था,संघसंस्था लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आयोजक आदिबासी जनजाति महासंघ बेलबारीमा आवद्ध जाति सहित विभिन्न जाति समुदायका जातिय संस्कार संस्कृति खानपानसँग सम्बन्धित स्टल तथा अन्य गरी जम्मा ५५ स्टलहरु रहने आयोजकले जनाएको छ ।


महोत्सवमा जाति समुदायलाई निशुल्क स्टल उपलब्ध गराइएको साथै जातीय मौलिकता प्रबर्द्धन गर्न प्रोत्साहन स्वरुप ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत ब्यबस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइले जानकारी दिनुभएको छ । महोत्सव मार्फत जात जातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रबर्द्धनका लागि तीन तहकै सरकारहरुको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ । जातजातिको मौलिक खानपिनको ब्यवसायिकता बिकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य पनि लिइएको अध्यक्ष राइले बताउनुभएको छ ।


महोत्सव अबधिभर हरेक दिन विभिन्न जाति तथा समुदायको पहिचान झल्कने सांस्कृतिक प्रस्तुतीहरु दैनिक रुपमा रहनेछन् । यस्तै विभिन्न विद्यालयको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पुर्वेली कलाकारहरुले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राइ, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राइ, पार्वती राई, कृष्णभक्त राइ, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।