गोठगाउँ स्थित शिवपाञ्चायन मन्दिरमा फागुन ५ देखि : दिनबन्धु पोखरेलले कथा बाचन गर्ने

फागुन ३
मोरङको सुन्दरहरैंचा ७ गोठगाउँ स्थित शिवपाञ्चायन मन्दिरमा फागुन ५ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । फागुन १२ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मन्दिरमा शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नुहुने भएको छ । उपवाचकमा पण्डित वासुदेव पोखरेल रहने पुराण आयोजक मुल समारोह समितिले जनाएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

मन्दिरको क्षेत्रफल बिस्तार गर्न थप जग्गा खरीद गर्ने, ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने, विवाह मण्डप निर्माण गर्ने तथा मन्दिरको चारैतिर घेराबारा गर्नुका साथै मन्दिरको भौतिक संरचना मर्मतका लागि अर्थ सङ्कलन गर्ने उद्देश्य राखी महायज्ञ हुन लागेको मूल समारोह समितिका संयोजक भक्तिप्रसाद सिटौलाले बताउनुभएको छ ।
महायज्ञमार्फत् १ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने आयोजकको लक्ष्य रहेको छ । त्यसमध्ये करीब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । बचत रकम रकम मन्दिरको लागि जग्गा खरीदलगायतका अन्य लक्षित उद्देश्यमा खर्च गरिने आयोजकको भनाइ छ ।
मुल समारोह समितिका महासचिव नागेश पोखरेलका अनुसार दैनिक २ हजार ५ सय भन्दा बढी भक्तजनको उपस्थिति रहने अनुमान गरिएको छ । देशविदेशमा रहेका धर्मप्रेमी दाताहरुले बैंक खातामार्फत पनि रकम दान गर्न सक्ने व्यवस्था आयोजकले मिलाएको छ । मितेरी बैंकमा रहेको खाता नम्बर ०१६११६०००४९३१३०००००१मा रकम जम्मा गर्न सकिने आर्थिक संयोजक खड्ग श्रेष्ठले जानकारी दिनुभएको छ ।