बेलबारीमा अपाङ्गता अभिमुखीकरण : अपाङ्गतामैत्री स्वास्थ्य निति र व्यवाहारमा जोड

माघ २७
नेत्रहिन युवा संघ नेपालको आयोजना मा बेलबारीमा सोमबार अध्ययन प्रतिवेदन प्रस्तुतीकरण तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी ३ स्थित मोरङ नेत्रहिन संघको सभाहलमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले सहज ढंगले स्वास्थ्य सेवा लिने वातावरण निर्माणका लागि निति र व्यवहार दुवै सहज बनाइनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा अपाङ्गताका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको थियो । त्यस्तै यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजन सम्बन्धी बनेका नितिहरु केलाएर अपाङ्गतामैत्री निति निर्माणका लागि सुझाव सहितको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजन सम्बन्धी समावेसिता र संलग्नताका लागि निति तथा कार्यक्रम परियोजनाबारे पनि जानकारी गराइएको थियो ।


नेपाल नेत्रहिन संघकी केन्द्रिय सदस्य एवम् मोरङ नेत्रहिन संघ की अध्यक्ष सावित्रा कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको परिचय, बर्गीकरण, परिचयपत्र वितरण प्रकृया लगायतबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पुनरावलोकन गरिएका स्वास्थ्य सम्बन्धी नितिहरु बारे तयार पारिएको प्रतिवेदन तथा आवश्यक सुझाव परियोजनाकी संयोजक सरोजा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । नेत्रहिन युवा संघ नेपालकी पैरवी अधिकृत अनिता सिग्देलले परियोजनाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा मोरङका स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो । स्वास्थ्य सम्बन्धी निति कार्यक्रम बनाउँदा र सुचना सामग्रीहरु निर्माण गर्दा पनि अपाङ्गता मैत्री ढंगले बनाउने विषयमा स्वास्थ्य शाखा प्रमुखहरुले प्रतिवद्धता जनाएको सिग्देलले जानकारी दिनुभएको छ । नेत्रहिन युवा संघ मोरङ शाखाका अध्यक्ष दुर्गानाथ योगीले कार्यक्रम फलदायी भएको बताउनुभएको छ । नेत्रहिन युवा संघ नेपालको आयोजनामा नेत्रहिन युवा संघ नेपाल मोरङ शाखा सँगको सहकार्य तथा फेमीली प्लानिङ २०२० को आर्थिक सहयोगमा कार्यक्रम भएको थियो ।