बेलबारीमा नागरिकता सच्याउन एक लेखापढी व्यवसायीले लिए ६ लाख रुपैयाँ

घटना थाहा पाएपछि बेलबारी वडानम्बर २ कार्यालयमा भेला भएकाहरु

माघ २६
बेलबारी नगरपालिका वडानम्बर २ कार्यालय परिषरमा लेखापढीको काम गर्ने एक व्यक्तिले नागरिकतामा नाम सच्याइदिए वापत भनेर ६ लाख रुपैयाँ रकम लिएको खुलेको छ । लेखापढी व्यवसायी बेलबारी २ का तिर्थ गिरीले त्यसरी रकम लिएको खुलेपछि उनलाई आइतबार इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । भारितय सेनामा कार्यरत बेलबारी २ कै बमबहादुर लिम्बुको नागरिकताको नाम सच्याईदिएवापत विभिन्न ठाउँमा रकम बुझाउनुपर्ने भन्दै गिरीले सो रकम लिएको लिम्बुले बताएका छन् ।
नागरिकतामा नाम बमबहादुर रहेपनि भारतिय सेनामा पदमबहादुरको नामबाट जागिर खाएकाले पेन्सन प्रयोजनका लागि सच्याएर नागरिकतामा पनि पदमबहादुर नै बनाउनुपर्ने भएपछि लिम्बुले गिरीलाई भेटेका थिए । गिरीले सो कामका लागि सिडिओ कार्यालयसम्म रकम बुझाउनुपर्छ भन्दै रकम मागेको लिम्बुले जानकारी दिए । आफुले भने अनुसार नै नागरिकतामा नाम सच्चिएपछि लिम्बुले गत पुष २८ गते गिरीलाई लालभित्ती स्थित एक होटलमा पैसा बुझाएका थिए । । लिम्बुका अनुसार गिरीले सुरुमा कागजहरु हेरेपछि १ लाख रुपैयाँमात्रै मागेका थिए । पछि सिडिओ कार्यालयमा समेत रकम बुझाउनेपर्ने भयो भन्दै गिरीले जम्मा ६ लाख रुपैयाँ लाग्ने बताएका थिए । ‘आफुले केही बुझेको थिएन । खर्च लाग्ने नै होला भन्ने लाग्यो’ लिम्बुले भने ‘काम हुने भएपछि मैले जम्मा ६ लाख रुपैयाँ बुझाएँ ।’
बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले लिम्बुको काम सर्जिमिन लगायत सामान्य प्रकृयाहरु पुरा गर्दै भएपनि गिरीले सोही कामको लागि रकम लिएको पछि मात्रै थाहा पाएको बताए । लिम्बुकै छिमेकी मार्फत आफुले यसबारे जानकारी पाएको गौतमले बताए । त्यसरी रकम लिएको सुनेपछि दुवैपक्षसँग कुरा गरेको र गिरीले रकम लिएको स्विकारेको गौतमले बताए । गिरीले जिल्ला प्रसासन कार्यालय मोरङका टेकबहादुर श्रेष्ठ नाम गरेका कर्मचारी र विराटनगरकै अर्का एक व्यक्ति पनि यसमा संलग्न रहेको बताएको गौतमले जानकारी दिए ।
रकम लिएको खुलासा भएपछि गिरीले आइतबार नै रकम फिर्ता गर्ने भन्दै तत्काललाई ५ लाख रुपैयाँ को चेक काटिदिएका थिए । उनको चेकमार्फत साटिएको ५ लाख रुपैयाँ रकम इलाका प्रहरी कार्यालय बेलबारीले बरामदी मुचुल्का तयार गरेर नियन्त्रणमा लिएको छ । गिरीलाई इलाका प्रहरी कार्यालय बेलबारीकै नियन्त्रणमा राखिएको छ । यसरी नागरिकतामा नाम सच्याउने कार्य वडा कार्यालयबाट सहज र सामान्य प्रकृया अनुसार अघि बढेको देखिन्छ । यति सामान्य कामका लागि त्यति ठुलो परिमाणको रकम माग गर्ने हिम्मत गिरी एक्लैले गरे वा यसमा अन्य पक्ष र पदिय जिम्मेवारीमा रहेकाहरुको पनि हात छ ? धेरैले यस्तो प्रस्न पनि उठाएका छन् । यसबारे हुने सोधपुछ र अनुसन्धानले यसबारे अझै तथ्य बाहिर ल्याउन सक्छ । गिरी विरुद्ध अख्तियारमा मुद्दा अघि बढाइने इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले जानकारी दिएका छन् ।