बेलबारीमा हात्तीपाइले विरुद्ध औषधी खुवाउन सुरु : माघ २९ सम्म घरमै गएर औषधी खुवाइने


माघ २५
हात्तीपाइले रोग निवारण राष्ट्रिय अभियान अन्तर्गत बेलबारी नगरपालिका भित्र पनि शनिबारबाट औषधी खुवाउन थालिएको छ । नगरपालिकाकी उपप्रमुख ढाका पराजुलीले बेलबारीको ११ नम्बर वडा कार्यालय लक्ष्मीमार्गमा आयोजित एक कार्यक्रममा हात्तीपाइले विरुद्धको औषधी सेवन गरेर अभियानको सुरुवात गर्नुभएको हो । अभियान अन्तर्गत शनिबार नगरभित्रका विभिन्न ६५ स्थानमा केन्द्र खडा गरेर औषधी खुवाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । यसरी औषधी खुवाउने कार्यमा ७५ जना स्वास्थ्यकर्मी तथा ३५ जना महिला स्वयंसेविका समेत खटिएका छन् । आउँदो माघ २९ गते सम्म चल्ने अभियान अन्तर्गत बेलबारी नगरपालिका भित्र ६९ हजार व्यक्तिलाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखाले जनाएको छ । शनिबार विभिन्न ठाउँमा केन्द्र तोकेर औषधी खुवाइएको र आइतबारदेखि स्वास्थ्यकर्मीहरु घर घरमै पुगेर औषधी खुवाउने कार्यक्रम रहेको छ ।
२ वर्ष नपुगेका वालवालिका, गर्भवती महिला , ७ दिनसम्मका सुत्केरी महिला र सिकिस्त विरामी भएर ओच्छ्यान परेका व्यक्ति बाहेक सम्पुर्णले औषधी सेवन गर्नैपर्ने स्वास्थ्य शाखा प्रमुख विश्वकर्माले जानकारी दिनुभएको छ । हात्तीपाइले रोग निवारण गर्ने सरकारी लक्ष्य रहेकाले सो लक्ष्य पुरा गर्न र रोगबाट जोगिन अनिवार्य रुपमा औषधी सेवन गर्न र अरुलाई पनि यसमा सहयोग गर्न बेलबारी नगरपालिकाले सबैलाई आग्रह गरेको छ । बेलबारीमा मात्रै हैन मोरङका सबै स्थानिय तहमा पनि औषधी खुवाउने अभियान सञ्चालन भैरहेको छ ।