पीयुको दीक्षान्त समारोहको तयारी तीव्र, समारोह स्थल बनाइँदै

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २७ गते मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा हुने दीक्षान्त समारोहका लागि कार्यक्रम स्थलको निर्माण धमाधम भइरहेको छ ।

दीक्षान्त समारोहमा २ हजार ५० जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति बिजु थपलियाले बताए । समारोहमा भाग लिन विशिष्ट व्यक्ति तथा विद्यार्थी आउने भएकाले गोठगाउँ चोक र चन्द्रनगरबाट विश्वविद्यालय जाने बाटोको मर्मत गर्ने कार्य सुन्दरहरंैचा नगरपालिकाको सहयोगमा धमाधम भइरहेको छ । विश्वविद्यालयको मुख्य प्रशासनिक भवनलाई रङरोगन गरेर बेहुलीझैँ सिँगारिएको छ ।

विश्वविद्यालय वरिपरी सरसफाइ गरिएको छ । सुन्दरहरैंचा नगरपालिकामा एउटा हेलिप्याड आवश्यक हुने भएकाले दीक्षान्त समारोहको अवसरमा नगरपालिकाको सहयोगमा सो हेलिप्याडको निर्माणकार्य समेत भइरहेको छ ।

विश्वविद्यालयमा अहिले विभिन्न सङ्कायमा गरी २ हजार विद्यार्थी अध्ययनरत रहेको र अर्को वर्षदेखि एमबीबीएसका कक्षासमेत सञ्चालन हुने डिन शैलेशमणि पोखरेलले बताए । गोठगाउँमा ८ सय ५ बिघा जग्गामा सो विश्वविद्यालय फैलिएको छ ।

यो पनि पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोह गोठगाउँमा हुने