टेबलटेनिसमा पहिलो पटक सिंगल्सतर्फ नेपाललाई पदक

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ ।

सोमबारदेखि लैनचौरस्थित टिटिहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य हात पारेको छ । त्यस्तै, पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जिते ।

भारतीय खेलाडीसँग पराजित भएका नेपाली खेलाडी स्यान्टु र पुरुषोत्तमले टेबलटेनिसको साग इतिहासमा सिङ्गल्सतर्फ पहिलो पटक पदक जितेका हुन् ।

काठमाडौंमा भएको सागमा टेनिसको सिंगल्सतर्फ नेपालले दुई कास्य जितेको छ ।

सागमा नेपाल टेबलटेनिसले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो । शिवसुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो ।