टाइफोइड: नेपाली बालबालिकामा परीक्षण गरिएको रोगप्रतिरोधी भ्याक्सिनको प्रशंसा

नेपालमा परीक्षण गरिएको टाइफोइड रोगविरुद्ध प्रतिरोध क्षमता विकसित गराउने नयाँ भ्याक्सिन “सफल” भएको पाइएपछि ब्रिटेनदेखि नेपालसम्मका विज्ञहरूले खुसी व्यक्त गरेका छन्।

उक्त भ्याक्सिनले साल्मनेला नामक जीवाणुले गराउने सङ्क्रमण ८० प्रतिशतले रोकेकाले त्यसलाई निकै महत्त्वपूर्ण उपलब्धिको रूपमा वर्णन गरिएको छ। यससम्बन्धी एउटा शोध भर्खरै प्रकाशित भएको छ।

अमेरिकी परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको आर्थिक सहयोगमा ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालय र नेपालका चिकित्सकहरू समेतको सहभागितामा टाइफोइड कन्जुगेट भ्याक्सिन (टीसीभी) को परीक्षण सन् २०१७ देखि सन् २०१९ सम्म पाटन अस्पतालमा गरिएको थियो।

त्यसमा ललितपुस्थित नेपाल परिवार विकास प्रतिष्ठान र वास पासा पोलिक्लिनिक्स पनि संलग्न थिए।

न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार त्यसको परीक्षणमा ९ महिनादेखि १६ वर्ष उमेरका २० हजार नेपाली बालबालिका सहभागी गराइएको थियो।

युगान्तकारी भनिएको यो सफलतापछि पाकिस्तानका ९० लाख बालबालिकालाई अब त्यो भ्याक्सिन दिन लागिएको बताइएको छ। त्यहाँ दक्षिण एशियाका अन्य देशहरूमा जस्तै टाइफोइड रोग एन्टिबायोटिक्सप्रतिरोधी बन्दै गएको चिकित्सकहरू बताउँछन्।

परीक्षणमा सामेल नेपाली के भन्छन्?

उक्त भ्याक्सिनलाई विश्व स्वास्थ्य सङ्गठनले केही समयअघि पूर्वमान्यता दिएको थियो।

डा. बुद्ध बस्नेत, डा. मिला शाक्य, डा. दीक्षा पन्त लगायतका नेपाली चिकित्सकहरू पनि त्यो परीक्षणमा सहभागी थिए। मलावी र बाङ्लादेशमा पनि त्यो भ्याक्सिनको परीक्षण गरिएको थियो।

डा. बस्नेतले परीक्षण सफल भएकोमा खुसी व्यक्त गर्दै बीबीसी न्यूज नेपालीसँग भने, “टाइफोइडले हामीलाई निकै सताउने गरेको छ। यस्तो अवस्थामा यो भ्याक्सिन सफल भएको छ। यो त पूरै दक्षिण एशियाको लागि ठूलो उपलब्धि हो।”

दूषित खाना वा पानीबाट फैलने टाइफाइडका कारण विश्वभरि प्रतिवर्ष एक लाख ६० हजार मानिसको ज्यान जान्छ।

उनका अनुसार १.८ अर्ब जनसङ्ख्या रहेको दक्षिण एशियामा प्रत्येक एक लाख मानिसमा ५०० जना टाइफोइडबाट सङ्क्रमित हुने गरेका छन्। सङ्क्रमित बिरामीहरू लामो समय ज्वरो आउँने, टाउको दुख्ने, भोक हराउने र कब्जियत हुने आदि समस्याबाट पीडित हुन्छन्।

यो भ्याक्सिनको विकास भएसँगै अब सङ्क्रमणको दर उल्लेखनीय रूपमा घटाउन सकिने विज्ञहरूको अपेक्षा छ।

भ्याक्सिन सफल भएको पाइए पनि केही विज्ञहरूले परीक्षणमा सहभागी गराइएका नेपाल, मलावी र बाङ्लादेशका बालबालिकामा त्यसको असर कति लामो समयसम्म रहन्छ भनेर पछिसम्म नै अनुगमन गरिरहने योजना बनाएका छन्।

परीक्षणबारे ब्रिटिश विज्ञ के भन्छन् ?

बालिका

परीक्षणमा सहभागी अक्स्फोर्ड विश्वविद्यालयका प्रोफेसर एन्ड्रू पोलार्डका अनुसार यो भ्याक्सीनले एकदमै राम्रो काम गरेको र टाइफोइडको उच्च जोखिममा रहेका बालबालिकाहरूलाई रोगबाट बचाउन सकिनेछ।

“टाइफोइडको उपचारका लागि बालबालिकालाई जचाउन अस्पताल लगेर एन्टिबायोटिक्स किन्ने क्रममा प्रभावित परिवारले धेरै रकम खर्च गर्छन्। अब रोग नियन्त्रण गर्न यो भ्याक्सीन आएको खबर निकै उत्साहजनक बनेको छ,” बीबीसी न्यूजसँग उनले भने।

परीक्षणबारे कस्ता प्रश्न उठे ?

नेपालमा विगतमा मुख्यत: बाँदरमा गरीएका केही भ्याक्सीन परीक्षणहरू विवादमा परेका थिए।

त्यसैले यो परीक्षणबारे उठ्न सक्ने पहिलो प्रश्न यो हो – के त्यो परीक्षणको क्रममा नेपालको सबै विधिविधान पालना गरिएका थिए ?

परीक्षणमा सहभागी चिकित्सक डा. बुद्ध बस्नेतका अनुसार विगतमा भ्याक्सिन तथा खोप परीक्षणहरू विवादमा परेको नेपालको पृष्ठभूमिमा “पाइलापाइलामा” लक्षित समुदाय तथा अभिभावकहरूको “परामर्श तथा अनुमति लिइएको” थियो।

उनले बीबीसी न्यूज नेपालीसँग भने, “यो भ्याक्सीन परीक्षण गर्ने बेलामा नेपालका सबै विधिविधान तथा रीतिरिवाज पालना गरिएको थियो। अहिले त धेरै कडिकडाउ छ त्यसैले हामीले सबै रीति पुर्‍याएर भ्याक्सीनका फाइदाबारे बालबालिकाहरूका अभिभावकहरूसँग परामर्श गरेर उहाँहरूको अनुमति लिएका थियौँ।”

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् यस्ता परीक्षणहरूको अनुमति दिने निकाय हो।

परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले नयाँ टाइफोइड भ्याक्सीन परीक्षणको क्रममा पनि नेपालका सबै नियमकानुनको पालना गरिएको पुष्टि गरे।

‘परीक्षणहरू अझै हुनु पर्छ’

झाले बीबीसी न्यूज नेपालीसँग भने, “हामीले उहाँहरूलाई सबै नियम पूरा गर्न लगाएर मात्रै परीक्षण गर्न दिएका हौँ। परीक्षण चल्दै गर्दा हामीले उहाँहरूले परिषद् र विश्व स्वास्थ्य सङ्गठनका नियम पालना गरे वा नगरेको अनुगमन गर्न टोलीहरू पनि पठाएका थियौँ।”

“यसमा कुनै शङ्का गर्नु पर्ने ठाउँ छैन।”

अहिले टाइफोइड रोगविरुद्धको भ्याक्सिन परीक्षण सफल पाइएकोमा उनले खुसी व्यक्त गर्दै भने, “यो त सुखद कुरा हो। यदि मानवजातिलाई फाइदा हुन्छ भने यस्ता परीक्षणहरू अझै हुनुपर्छ।”

नयाँ भ्याक्सिन नेपालमा कहिले उपलब्ध होला ?

परीक्षणमा सहभागी चिकित्सक डक्टर बस्नेतका अनुसार भारतमा उत्पादन भइरहेको भ्याक्सिन अहिले पाकिस्तान पुग्ने वातावरण बनेको छ।

टाइफोडको महामारीको जोखिम रहेका बाङ्लादेश र नेपालजस्ता देशमा पनि यो भ्याक्सिनलाई सहजै पुर्‍याउन सकिन्छ।

तर त्यसको लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले विधिवत् अनुमति दिनुपर्छ।

“यो भ्याक्सिन नेपालमा सर्वसुलभ बनाउनका लागि स्वास्थ्य मन्त्रालयको आफ्नै विधि र नियम छ। त्यो पूरा भएपछि यो नेपालमा पनि उपलब्ध होला,” उनले भने। – बीबीसी




Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =