स्वरसम्राटको स्मृतिमा : नझरेका फूलहरू पलेटीँ साँझमा गुञ्जिए उनका गीत

विराटचोकः  स्वरसम्राट नारायण गोपालको २९ औँ स्मृति दिवस विराटचोकमा विशेष कार्यक्रम गरी सम्पन्न भएको छ ।

बिहीबार साँझ कोशीहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा नझरेका फूलहरू पलेँटी साँझको १६ औँ शृङ्खलाअन्तर्गत नारायण गोपाल स्मृति दिवस तथा शिशिर योगी सम्मान कार्यक्रम सम्पन्न भएकोे हो ।

कार्यक्रममा लोकप्रिय गायक शिशिर योगीलाई सम्मान समेत गरिएको थियो । सम्मानपछि योगीले स्वरसम्राटका केही लोकप्रिय गीत सुनाएका थिए । दर्शक र स्रोताको अनुरोध तथा मायाका निम्ति केही आफ्ना कोसेली समेत उनले प्रस्तुत गरेका थिए । उनले यस्तो कार्यक्रम आयोजना गर्नु कलाकारका लागि अत्यन्तै महत्वपूर्ण भएको र स्थानीय कलाकारलाई समेत हौसला प्रदान गरेको भन्दै पलेँटी साँझको प्रशंसा गरेका थिए ।

यस्तै, पूर्वकी चर्चित गायिका सृष्टि हिङ्माङले पनि स्वरसम्राटका गीत सुनाएकी थिइन् । उनीे छोटो समयमा पूर्वेली लोक तथा आधुनिक गायनमा स्रोताको मस्तिष्कमा बस्न सफल भएकी छिन् । उनलाई समेत उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

स्मृति दिवसमा कवि छवि वैरागी घिमिरेले पनि आफ्ना कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकार दुर्गा पराजुली, सञ्जीव धिमाल, राज लम्साल, यमुना पराजुली, भूमा अधिकारी, स्वरूप खतिवडा, आयुष विष्ट, रोमिका राई, समीक्षा घिमिरे लगायतले स्वरसम्राटका गीत दर्शक स्रोतालाई सुनाएका थिए ।

एउटै मञ्चमा गायक र कविहरूको सहभागिता हुँदा दर्शक स्रोताले भरपुर मनोरञ्चन लिने र स्वरसम्राटप्रति श्रद्धा–सुमन अर्पण गर्न स्मृति दिवस कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले बताए । साहित्य, कला र सङ्गीतको संरक्षण र विकासका लागि नझरेका फूलहरूले विगत तीन वर्षदेखि कार्यक्रम गर्दै आएको छ ।