मेडिकल कलेजले दोहोर्याए आफ्नो अडान, अतिरिक्त शुल्क फिर्ता नगर्ने भएपछि सरकार छलफल गर्दै

काठमाडौंः सरकारले मेडिकल कलेजलाई दिएको २४ घण्टे अल्टिमेटममा कलेज सञ्चालकले विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएका छन् । कलेज सञ्चालकको अडानपछि अब कसरी अघि बढ्ने भनेर सरकारले छलफल शुरु गरेको छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी भएको बताइएको छ । यसअघि आज मङ्गलबार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी कलेज सञ्चालकहरूले अतिरिक्त शुल्क फिर्ता नगर्ने आशयको पत्र शिक्षामन्त्रीलाई बुझाएका थिए ।

सरकारले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार शैक्षिक शुल्क तोकेको छ ।