सेन्सेटिभ इन्डेक्स बढे पनि बढ्न सकेन नेप्से

विराटचोकः शेयर बजार आज पनि ओरालो लागेको छ । यद्यपि नेप्से सूचक तल झरे पनि क वर्गका कम्पनीको इन्डेक्स नाप्ने सेन्सेटिभ इन्डेक्स भने आज पनि बढेको छ । हिजो पनि नेप्से स्थिर भए पनि सेन्सेटिभ भने बढेको थियो ।

नेप्से शून्य दशमलव ९१ अङ्कले घटेर १ हजार १ सय ९ दशमलव १६ अङ्कमा अडिएको छ । सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ११ अङ्कले बढेर २ सय ४५ दशमलव ४९ अङ्कमा अडिएको छ । कारोबार रकममा पनि थोरैले सुधार आएको छ । आइतबार र सोमबार २८ करोडको कारोबार भएकोमा मङ्गलबार २९ करोड ५८ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

१ सय ६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर ३ हजार ८ सय ४१ पटक कारोबार भएको बजारमा समग्र पूँजीकरण १४ खर्ब ७ अर्ब कायम भएको छ । बैंक, व्यापार र जलविद्युतबाहेक अन्य ९ उपसूचकमा रातो पोतिएको छ ।

आज उच्च कारोबार गर्ने १० कम्पनीमा ८ ओटा बैंक, एउटा जीवन बीमा कम्पनी र एउटा उत्पादनमूलक समूहको कम्पनी रहेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ८१ लाख ९७ हजार रुपैयाँको कारोबार हुँदा सिटिजन्स बैंकको संस्थापक शेयर ३ करोड ८२ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

तेस्रो चौथो र पाँचौँ स्थानमा रहेका नेपाल बैंक, एनएमबी बैंक र एनआईसी एशिया बैंकको १ करोडभन्दा बढी रकमको शेयर किनबेच भए पनि अन्य कम्पनीको ७६ लाख रुपैयाँभन्दा कम परिमाणको शेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिङको ६ प्रतिशत, नेशनल हाइड्रोपावरको ४ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डको २ दशमलव ४८ प्रतिशतले शेयरमूल्य बढेको बजारमा सानिमा माई हाइड्रो र एक्सल डेभलपमेन्ट बैंकको २ प्रतिशतभन्दा बढीले मूल्य बढेको थियो ।

त्यस्तै, युनियन हाइड्रोपावरको ५ दशमलव ६६, सेन्ट्रल फाइनान्सको ३ दशमलव ५७ र लक्ष्मी इक्विटी फण्डको ३ दशमलव ५० प्रतिशत मूल्य घटेको बजारमा जोशी हाइड्रोपावरको ३ दशमलव ४५ र सिन्धु विकास बैंकको ३ दशमलव २८ प्रतिशतले मूल्य घटेको छ ।