सुन्दरहरैंचाका २ विद्यालयको समायोजन गर्ने नगरकार्यपालिकाको बैठकको निर्णय

विराटचोकः पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या खस्कँदो अवस्थामा रहेको छ । सरकारको प्रत्यक्ष सहयोगमा सञ्ंचालन भएको विद्यालयप्रति अभिभावक विद्यार्थीको मन किन जाँदैन ? यो शिक्षा क्षेत्रको सबैभन्दा ठूलो रोग बनेको छ ।

विद्यालयको यस्तो दुरावस्थासँग राज्यलाई रत्तिभर चिन्ता छैन । राज्य कानमा तेल हालेर बसेको छ । भौतिक संरचना राम्रो नहुनु, विद्यालयसम्म पुग्न सवारी साधन नहुनु, वैदेशिक रोजगारमा जानेका अभिभावकले सामुदायिक विद्यालयमा आफ्ना बच्चा नपठाउने समस्या भएका कारण धेरै विद्यार्थी सामुदायिक विद्यालयमा पढ्न नआउने शिक्षकहरू बताउँछन् ।

यसैबीच मोरङको सुन्दरहरैंचा नगरपालिकाले ४२ औँ कार्यपालिका बैठकबाट २ विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको छ । यो निर्णय धेरै नै महत्वपूर्ण भएको जानकार बताउँछन् । वडा नम्बर ८ सलकपुरमा रहेको श्री सूर्योदय आधारभूत विद्यालयलाई शिक्षा निकेतन माविमा मर्ज गर्ने निर्णय गरेको छ । सोमबार पूर्वाञ्चल विश्वविद्यालय परिसरमा बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको ८ नम्बर वडाका अध्यक्ष खेम न्यौपानेले बताए ।

२०५६ सालमा स्थापित सूर्योदय विद्यालयमा कक्षा ५ मा ५ जना, कक्षा ४ मा २ जना, कक्षा ३ मा ५ जना, कक्षा २ मा ७ जना र कक्षा १ मा १२ जना विद्यार्थी रहेका थिए । नगर कार्यपालिकाको निर्णयपछि दुवै विद्यालय सञ्चालक समितिको बैठक मङ्गलबार शिक्षा निकेतन स्कुलमा बसेको थियो । सो बैठकबाट कक्षा १ देखि ८ सम्म शिक्षा निकेतनमा पढाइ हुने र कक्षा ९ देखि १२ सम्म साबिकको सूर्योदयमा पढाइ हुने वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले बताए । शिक्षकको हकमा भने शिक्षक, सहयोगी कार्यकर्ता, शिक्षा निकेतनमा रहनेछन् । नगरपालिकाको बैठक पूर्वाञ्चल विश्वविद्यालय परिसरमा बसेको थियो ।

विद्यालयको पढाइलाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि सबै सरोकारवालालाई विद्यालयमा सुधार, उपलब्धिमूलक र प्रभावकारी पढाइ, विद्यालयमा नियमित उपस्थिति, सिकाइप्रतिको सकारात्मक धारणा निर्माण गर्नमा भूमिका खेल्ने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

शिक्षाको गुणात्मकता, शिक्षण कार्यप्रतिको लगाव, नियमितता, विद्यार्थीको स्तर र अभिभावकको आफ्ना बालबालिकाको पढाइमा संलग्नता अनि शिक्षक विद्यार्थी, अभिभावक तथा सबै सरोकारवालाकाबीचको सहकार्य, सहयोग र विद्यालय प्रशासनको विद्यार्थी सिकाइ उपलब्धिप्रति उच्च आकाङ्क्षाले निकै ठूलो भूमिका खेल्ने भएकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

सूर्याेदय आधारभूतमा कम विद्यार्थी भएको समाचार यसै साता निष्पक्ष खबरमा प्रकाशित भएको थियो https://nispakshyakhabar.com/?p=1544