पथरी / ‘स्वास्थ्य पशु स्वच्छ उत्पादन, निर्यातमुखि कृषि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम दोस्रो चरणको उद्घाटन गरिएको छ ।

आज नगर प्रमुख मोहन प्रसाद तुम्वापो खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्नुभएको छ । वडा नं. ३ को हिफाजत पशुपंक्षी तथा कृषि फर्म पिपल चौकमा वडाध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा सो उद्घाटन कार्यक्रम भएको थियो ।
पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको सो कार्यक्रमको सहयोग तथा समन्वय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र विराटनगरको रहेको छ । सो औपचारिक कार्यक्रमको सञ्चालन नायव पशु प्राविधिक लक्ष्मी घिमिरले गर्नुभएको थियो भने स्वागत मन्तव्य पशु प्राविधिक जनक चौधरीले राख्नुभएको थियो । नगरका पशु चिकित्सक डा. आशिष देवले खोरेत रोग विरुद्धको खोप बारे आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा सदस्यहरु र पशु प्राविधिकहरुको उपस्थिति रहेको थियो । नगरमा खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम एक महिना सञ्चालन हुने जनाइएको छ ।