विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले सरकारी छाप र दस्तखत किर्ते गरी सवारी दर्ता किताब नवीकरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ खर्जि चौकस्थित यातायात कार्यालय परिसरभित्र लेखापढीको काम गर्ने मोरङ विराटनगर–६ बस्ने वर्ष ३७ का कमल कुमार स्वर्णकारले विभिन्न सवारी साधनका सवारी दर्ता किताब नवीकरण गर्दा सरकारी छाप तथा अधिकारप्राप्त अधिकृतको दस्तखत किर्ते गरी नक्कली कागजात तयार गर्ने गरेको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप सोधपुछ गर्दा नक्कली छाप र दस्तखत प्रयोग गरिएको प्रमाण फेला परेको प्रहरीको भनाइ छ। त्यसपछि पीडित पक्षबाट जाहेरी प्राप्त भई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको छ।
यसै क्रममा उनको घर तथा कार्यस्थल खानतलासी गर्दा विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत बरामद भएको प्रहरीले जनाएको छ। ती किताबहरू कसैले नवीकरणका लागि दिएको हुन सक्ने आशंकामा प्रहरी कार्यालयले सम्बन्धित व्यक्तिहरूलाई आजको मितिबाट ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।